टिकट सकिएपछि क्यानले भन्याे– ‘एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्नुहोस्’

  • प्रकाशित मिति : २०८२ कार्तिक ३०, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट सकिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले दर्शकलाई घरमै बसेर खेल हेर्न आग्रह गरेको छ। क्यानका सचिव पारस खड्काले भिडियो सन्देश जारी गर्दै पहिलो दिनको भीड नियन्त्रण गर्न तथा टिकट नपाएका दर्शकलाई सहज बनाउन यस्तो आग्रह गरेका हुन्।

उनका अनुसार उद्घाटन खेलका सबै टिकट केही घण्टामै बिक्री भइसकेका छन्। खड्काले भने, “पहिलो दिन सधैं चाप बढी हुने भएकाले टिकट पाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।”



एनपीएलका टिकटहरू खल्तीमार्फत बिक्री गरिएका थिए। क्यानले करिब आठ हजार टिकट मात्रै सार्वजनिक बिक्रीमा राखेको र करीब दुई हजार टिकट खेलाडीका परिवार, आयोजक तथा प्रायोजकका लागि छुट्याइएको जनाएको छ।

उद्घाटन खेलका लागि साधारण र प्रिमियम दुवै टिकट सकिएको क्यानले जनाएको छ। साधारण टिकटको मूल्य उद्घाटन तथा अन्य दिनका खेलका लागि ५ सय रुपैयाँ, प्ले–अफ र फाइनलका लागि १ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै प्रिमियम टिकट उद्घाटन तथा शनिबारका खेलका लागि १ हजार ५ सय, अन्य दिनका लागि १ हजार र प्ले–अफ तथा फाइनलका लागि २ हजार रुपैयाँ छ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच सोमबार अपराह्न ४ बजे हुने कार्यक्रम छ।