एनपीएलकाे दोस्रो संस्करण आजदेखि, कीर्तिपुर मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल

  • प्रकाशित मिति : २०८२ मंसिर १, सोमबार
  • नेपाल टेल संवाददाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। फ्लडलाइट र प्यारापिटसहित स्तरोन्नति गरिएको मैदानमा पहिलोपटक एनपीएल आयोजना हुन लागिरहेको छ, जसले प्रतियोगिता प्रति उत्साह थपिएकाे छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुनेछ भने उद्घाटन खेल ४ बजे सुरु हुनेछ। मङ्सिर २७ गतेसम्म चल्ने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल खेलाइनेछ।



उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

यसपटक त्रिवि मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ, जसले दर्शकलाई सिटमै बसेर खेल अवलोकन गर्ने सुविधा दिनेछ। फ्लडलाइटको व्यवस्थाले रातिको समयमा पनि खेल सञ्चालन सम्भव बनेको छ। सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई आवश्यक संरचना आइतबार साँझ हस्तान्तरण गरेको थियो।

प्रतियोगितामा विजेता टोलीले रु १ करोड १० लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख प्राप्त गर्नेछ।

एनपीएलका सबै खेल कीर्तिपुरमै हुनेछन्। क्यानले दैनिक नौ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलका टिकट दुई दिन अघि नै बिक्री सकिएका छन्।

शनिबारको खेलका लागि साधारण टिकट ५०० र प्रिमियम टिकट १,५०० रुपैयाँ तोकिएको छ। लिग चरणका अन्य खेलहरूमा टिकट दर ५०० र १,००० रहनेछ। प्लेअफपछिका खेलमा जनरलतर्फ १,००० र प्रिमियमतर्फ २,००० रुपैयाँ तोकिएको छ। सिजनल टिकटको मूल्य १५ हजार निर्धारण गरिएको छ।

यस वर्ष एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। क्यानले यो संस्करणबाट करिब ४० करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।