हर्मित सिंहको उत्कृष्ट अलराउन्डर प्रदर्शनले प्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
बुधवार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँको ब्याटिङ लाइनअप पूर्ण रूपमा धराशायी भयो। गोर्खाज टोली १६.५ ओभरमै सबै विकेट गुमाएर ११८ रनमा समेटियो।
सुदूरपश्चिमका बलरहरू अगाडि काठमाडौँका ब्याटरहरू निरिह देखिए। आफ्नो बल–ब्याट दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका हर्मित सिंहको प्रभावशाली खेल सुदूरपश्चिमको जितको मुख्य आधार बन्यो।
सिद्धार्थ बैंक एनपीएल अन्तर्गतको यस खेलले सुदूरपश्चिम रोयल्सलाई महत्वपूर्ण दुई अंक दिलाएको छ भने काठमाडौँ गोर्खाजका लागि भने लय सम्हाल्न चुनौती उकासिएको छ।
एनपीएलको रोमाञ्चक भिडन्तमा काठमाडौँ गोर्खाजका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। त्यस्तै जोन सिम्पसनले २४ रन, भीम सार्कीले १२ रन र मिलिन्द कुमारले ११ रन जोडे। तर, अन्य खेलाडी दोहोरो अंकमा पुग्न नसक्दा टोलीको इनिङ्स कमजोर बन्यो।
सुदूरपश्चिम रोयल्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दबाब बनाएका थिए। बलिङतर्फ स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले समान २–२ विकेट लिए। त्यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले पनि एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाउँदै १४७ रनको प्रतिस्पर्धात्मक योगफलक बनाएको थियो। ४ रनमै ३ विकेट गुमाउँदै खराब सुरुआत गरेको सुदूरपश्चिमले १६ औँ ओभरमा २१ रन र १७ औँ ओभरमा २४ रन जोड्दै पारी उकास्यो।
टोलीका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले। हर्मितले २० बलमा २ चौका र ६ छक्कासहित ५३ रनको विस्फोटक पारी खेलेर टोलीको स्कोर उकासे।
बलिङतर्फ काठमाडौँका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। त्यस्तै सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले पनि २–२ विकेट लिएर सुदूरपश्चिममाथि दबाब बनाएका थिए।