सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले दमदार प्रदर्शन गर्दै लगातार दोस्रो जित सुनिश्चित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार साँझ भएको रोमाञ्चक खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकाको शिखरमा उक्लिएको छ।
१९४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७५ रन मात्र बनाउन सक्यो, जससँगै टोलीलाई लगातार दोस्रो पराजय ब्यहोर्नुपर्यो।
पोखराका कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्कासहित आकर्षक ५३ रन बनाए। त्यस्तै, जेम्स निसमले २५ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४७ रनको योगदान दिए। तर अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा टोली लक्ष्य नजिक पुगेर पनि चुक्यो।
सुदूरपश्चिमको बलिङ उत्कृष्ट रह्यो। हरमित सिंहले २ विकेट लिए भने स्कट कुग्लिजिन, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा र नरेन साउँदले एक–एक विकेट हात पारे।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा आक्रामक १९३ रनको विशाल योगफल तयार पारेको थियो, जुन अन्ततः जितका लागि पर्याप्त सावित भयो।