एनपीएलमा आज दुई खेलः बिहान लुम्बिनी–सुदूरपश्चिम, साँझ जनकपुर–पोखराको

  • प्रकाशित मिति : २०८२ मंसिर ११, बिहीबार
  • नेपाल टेल संवाददाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई रोचक खेल हुँदैछन् । पहिलो खेल बिहान ११:४५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

तीन खेलमा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शिखरमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको टोलीले जीतको निरन्तरता कायम राख्ने लक्ष्य लिएको छ । यता, तीनै खेल खेले पनि दुई अंकमा सीमित लुम्बिनी लायन्स लगातार दुई हारको दबाब हटाउँदै कमब्याकको खोजीमा छ ।



दोस्रो खेल दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्सबीच हुनेछ । दुवै टोलीले यसअघि खेलेका दुई खेलमै हार व्यहोरेका छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा आजको खेलमार्फत प्रतियोगितामा पहिलो अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।