नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।
काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको चितवन १७.२ ओभरमै ८९ रनमा अलआउट भयो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन, र सोहिल तन्विरले १८ रन जोडे । बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
काठमाण्डुको बलिङ पक्ष झन् प्रभावशाली रह्यो । रसिद खानले ३ विकेट लिए भने कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २–२ विकेट, र सन्तोष यादवले १ विकेट लिए ।
यसअघि, टीयु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डु १९.४ ओभरमा १४२ रनमा अलआउट भएको थियो । काठमाण्डुका जोन सिम्पसोनले केवल २९ बलमा ६० रन प्रहार गर्दै टीमलाई सम्हाले । उनको इन्निङ्समा ३ चौका र ५ छक्का समावेश थिए ।
जोन र मिलिन्दबीच चौथो विकेटका लागि ९८ रनको साझेदारी भयो, जहाँ मिलिन्दले ३८ रन बनाए । चितवनका तर्फबाट सोहिल तन्विरले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट हात पारे । रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ विकेट, र रवि बोपाराले १ विकेट लिए ।
यो जितसँगै काठमाण्डुले एनपीएल सिजन–२ मा तेस्रो विजय दर्ता गरेको छ भने चितवनले लगातार तेस्रो हार बेहोरेको छ ।