जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन–२ को प्लेअफमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा प्रभावशाली प्रदर्शन गरेका लुम्बिनीले १३३ रनको लक्ष्य १९ ओभर एक बलमै पूरा गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
यससँगै प्लेअफमा पुग्ने चारै टोली पुष्टि भएका छन्—सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्स।
त्यस्तै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिएका छन्।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले ३४ रनसहित उत्कृष्ट ब्याटिङ गरे। डार्सी सर्टले ३०, निरोशन डिक्वेलाले १७ र जेजे स्मिथले २१ रन जोडे। दिलीप नाथ १५ तथा रुवेन ट्रम्पलम्यान ६ रनमा अविजित रहँदा लुम्बिनीले जीत हात पार्यो।
जनकपुरका बलरमध्ये संगीत कुरेले ३ विकेट लिए भने मायन यादवले २ तथा सञ्जय कृष्णमूर्तिले एक विकेट निकाल्न सफल भए।
यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। संगीत कुरेले अविजित ४५ रन प्रहार गरे भने मायन यादवले पनि अविजित २७ रन जोडे। असिफ शेखले २० तथा सञ्जय कृष्णमूर्तिले १४ रन बनाए।
लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २–२ विकेट लिए, जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक–एक विकेट लिए।