बेलायतको एनएचएसमा कार्यरत नेपाली नर्सहरूका अनुसार नर्सिङ क्षेत्रमा कामको चाप र मानसिक तनाव भए पनि नेपालको तुलनामा आकर्षक कमाइ, सम्मान, अवसर र स्थिर भविष्यका कारण यसको माग बढ्दो छ।
बेलायतमा नर्स उत्पादन बढ्नु र अन्तर्राष्ट्रिय नर्सको आगमनका कारण पछिल्लो समय जागिर पाउन केही कठिनाइ भने देखिएको छ। यद्यपि, नर्सहरूले अनुभवका आधारमा महिनामा ३–५ हजार पाउण्डसम्म कमाउन सक्छन्।
एनएचएस इङ्गल्याण्डमा झन्डै १५ लाख कर्मचारीमध्ये १९% गैर–ब्रिटिश छन्, र तीमध्ये ३,५६२ दर्ता भएका नेपाली नर्स छन्। नेपाल–बेलायत सरकारी श्रमसम्झौतामा हालै ४२ नेपाली नर्स बेलायत पुगेका छन्।
डा. बच्चुकैलाश कैनीका अनुसार जनसंख्या वृद्धि र बढ्दो रोगभारका कारण सेवा विस्तार भए पनि त्यति अनुपातमा लगानी नबढ्दा स्वास्थ्यकर्मीमा कामको बोझ, तनाव र सुविधामा असर परेको छ। पर्याप्त जनशक्ति नहुँदा एनएचएसमा करिब १ लाख पद रिक्त छन्, जसले उपचारको गुणस्तर र काम गर्ने वातावरणमा चुनौती बढाएको छ।
थुप्रै स्वास्थ्यकर्मी अनुभव बटुलेर अन्य विकसित मुलुकतिर जाने वा समयअगावै स्वेच्छिक अवकास लिने प्रवृत्ति देखिएको छ। यसले एनएचएसलाई कर्मचारी भर्ना, रोकथाम र दीर्घकालीन टिकाउ रोजगार व्यवस्थापनमा कठिन बनाएको छ।
यी समस्यालाई समाधान गर्न वर्तमान लेबर सरकारले सेवा/सुविधा पुनरावलोकन, मानसिक स्वास्थ्य सहयोग तथा नयाँ भर्ती योजना जस्ता पहल अघि सारिरहेको छ।