एनपीएल: सुदूरपश्चिम रोयल्सले भित्र्यायो भारतीय सेल्डन ज्याक्सन

  • प्रकाशित मिति : २०८२ मंसिर २२, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट लयमा रहेको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्स प्लेअफको निर्णायक चरणअघि नयाँ खेलाडी भित्र्याउन बाध्य भएको छ। टोलीका दुई अष्ट्रेलियन स्टार खेलाडी जोस ब्राउन र क्रिस लिन प्रतियोगिता सकिनुअघि नै घर फर्किएपछि रोयल्सले विदेशी खेलाडीको रिक्त स्थान भर्न खोजिरहेको थियो।

यही क्रममा रोयल्सले भारतीय खेलाडी सेल्डन फिलिप ज्याक्सनलाई अनुबन्धन गरेको छ। विकेटकिपर–ब्याट्सम्यान ज्याक्सनले राष्ट्रिको टोलीबाट नखेले पनि फर्स्ट क्लास क्रिकेटमा १०६ खेलको ठोस अनुभव बोकेका छन्। उनले क्यारेरमा २१ शतक र ३९ अर्धशतक प्रहार गरेका छन्।



सन् २०१२/१३ को रणजी ट्रफीमा साराष्ट्रबाट खेलेका ज्याक्सनले चार अर्धशतक र तीन शतक बनाउँदै चर्चित प्रदर्शन गरेका थिए।

३९ वर्षीय ज्याक्सनले आइपीएलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरको प्रतिनिधित्व गरिसकेका छन्। तर आइपीएल यात्रामा भने उनी खासै सफल हुन सकेनन्। २०१७ देखि २०२२ सम्म ९ खेल खेलेका उनले जम्मा ६१ रन मात्रै जोड्न सकेका थिए।

यसबर्ष उनले पेशागत क्रिकेटबाट अवकाश लिने घोषणा गरेका थिए। रोयल्सले प्लेअफमा आफ्नो ब्याटिङ लाइनअप सुदृढ बनाउन ज्याक्सनलाई उपयुक्त विकल्पका रूपमा भित्र्याएको बताइएको छ।