भन्सार ऐनको विरोधमा देशभर भन्सार जाँचपास ठप्प, आयात–निर्यात रोकियो

  • प्रकाशित मिति : २०८२ मंसिर २३, मंगलवार
  • नेपाल टेल संवाददाता

भन्सार ऐनका केही प्रावधानलाई अन्यायपूर्ण भन्दै भन्सार एजेन्ट महासङ्घले गरेको आन्दोलनका कारण आजदेखि देशभरका सबै भन्सार कार्यालयमा सेवा ठप्प भएको छ। महासङ्घको आह्वानमा सुरु गरिएको पेनडाउनका कारण भन्सार जाँचपास बन्द हुँदा सबै प्रकारका मालवस्तु आयात–निर्यात प्रक्रिया अवरुद्ध भएको छ।

भन्सार एजेन्टले संसदबाट केही समयअघि पारित भन्सार ऐनमा भएका अव्यवहारिक प्रावधानहरू सच्याउन माग गर्दै लामो समयदेखि दबाब दिइरहेका थिए। तर माग सम्बोधन गर्ने पहल नभएपछि बाध्य भएर भन्सार गतिविधि नै रोक्नुपरेको महासङ्घले जनाएको छ।



महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार भन्सार ऐनमा रहेका व्यावहारिक नबनेका धाराहरू, सर्भरमा देखिँदै आएका निरन्तर समस्या तथा पेशागत हकहितका मुद्दामा सरकार उदासीन रहेकाले चरणबद्ध आन्दोलनअन्तर्गत पेनडाउन लागू गरिएको हो। विशेषतः दफा ७१ (झ) मा विद्युतीय प्रणालीमा कागजात अपलोड गर्दा सानोतिनो त्रुटि भए पनि जरिवाना गर्ने व्यवस्था प्रति एजेन्टहरूको कडा आपत्ति छ।

यसअघि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा मात्र पेनडाउन गरिएको थियो। तर माग सम्बोधन नभएपछि मंगलबारदेखि देशभरका सबै भन्सार कार्यालयमा जाँचपास प्रक्रिया पूर्ण रूपमा रोकिएको महासङ्घले जनाएको छ।