दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई चार विकेटले हराएको हो । यससँगै, अब लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भिड्नेछ । सुदूरपश्चिम रोयल्स यसअघि क्वालिफायर १ मा विराटनगरलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
त्रिवि क्रिकेट रंगशालामा काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रन बनाए । सन्दीप जोराले २३ रन जोडे भने कप्तान रोहित कुमार पौडेलले १८ रन, विकेटकिपर निरोशन डिकवेलाले १४ रन बनाए ।
बलिङ्मा काठमाडौंका सन्तोष यादवले २ विकेट लिए । त्यस्तै, कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले १–१ विकेट लिए ।
त्यसअघि, आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो ।
काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८ रन बनाए भने भीम सार्कीले १४ रन बनाए ।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए । त्यस्तै, रुवेन ट्रम्पलम्यानले दुई विकेट लिँदा अभिषेश गौतमले एक विकेट लिए ।