लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले ‘अन्तरराष्ट्रिय ध्यान दिवस’ को अवसरमा योग ध्यान सम्बन्धी कार्यक्रम आयोजना गर्न लागेको छ।
जीवन विज्ञान यूकेका प्रशिक्षकहरूले यही २१ डिसेम्बर, आइतबार दूतावासमा कार्यक्रम सञ्चालन गर्ने छन् । कार्यक्रम बिहान ९ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई अन्तरराष्ट्रिय ध्यान दिवसको रूपमा मनाउने निर्णय गरेअनुरूप दूतावासले त्यही दिन कार्यक्रम गर्न लागेको हो। दूतावासले शारीरिक र मानसिक स्वास्थ्य तथा योग ध्यान प्रवर्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको एक सूचनामार्फत जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनिवार्य रूपमा अनलाइन फारममार्फत आफ्नो नाम तथा विवरण दर्ता गर्नुपर्नेछ। सबैभन्दा पहिला नाम दर्ता गर्नेलाई प्राथमिकतामा राखिने राजदूतावासले जनाएको छ।
‘अहिलेको व्यस्त जीवनमा नियमित योग र ध्यान अनिवार्य बन्न पुगेको छ। त्यसैले अन्तरराष्ट्रिय ध्यान दिवसमा सहभागी भइ योग र ध्यानको जननी मुलुकको रुपमा नेपाललाई विश्व भरि चिनाउन र सकरात्मक उर्जाको प्रसार गर्न सहभागी हुन हामी सबै मित्रहरुलाई आमन्त्रण गर्दछौं’, जीवन विज्ञान युकेकी योग प्रशिक्षक सरिता शर्माले भनिन् । उनले कार्यक्रममा सहभागी भई लाभ उठाउन समेत सबैमा अनुरोध गरिन् ।
जीवन विज्ञान यूकेले गएको पांच वर्ष देखि हरेक दिन बिहान ५:३० देखि ७ बजेसम्म जुममार्फत योग तथा ध्यान कक्षा सञ्चालन गर्दै आएको छ।