जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता दिइने

  • प्रकाशित मिति : २०८२ पुष ४, शुक्रबार
  • नेपाल टेल संवाददाता

सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई मासिक रूपमा निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता प्रदान गरिनेछ।

जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।



स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको प्राविधिक समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा वर्गीकरण गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।

कार्यविधिअनुसार मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ, गम्भीर घाइतेलाई ९ हजार रुपैयाँ र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ प्रदान गरिनेछ।

घाइतेहरूको सिफारिस जिल्ला प्रशासन कार्यालयले गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण अन्तर्गत २९ मंसिरसम्म काठमाडौं, कास्की र चितवन गरी तीन जिल्लाका १८३ जनाको वर्गीकरण सम्पन्न भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७४ स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार जेनजी आन्दोलनका क्रममा देशभर २ हजार ५२२ जना घाइते भएका छन्।