साम्बाको ह्याट्रिकमा वेलिगंटनको सिड्नीमाथि ७-० को सानदार जित

  • प्रकाशित मिति : २०८२ पुष ५, शनिबार
  • नेपाल टेल संवाददाता

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिक प्रदर्शनमा वेलिंगटन फिनिक्सले निन्जा ए–लिगमा शानदार जित दर्ता गरेको छ।

शनिबार सम्पन्न खेलमा वेलिंगटन फिनिक्सले सिड्नी एफसीलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो।



खेलको सुरुवाती तेस्रो मिनेटमै वेलिंगटनले अग्रता लिएको थियो। त्यसपछि १३औँ मिनेटमा साम्बाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलसँगै वेलिंगटनले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो।

दोस्रो हाफमा पनि वेलिंगटनको दबदबा कायमै रह्यो। ५४औँ मिनेटमा ग्रेस जेलीले व्यक्तिगत दोस्रो गोल गर्दा स्कोर ४–० पुग्यो। त्यसपछि ६९औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। ८०औँ मिनेटमा साम्बाले आफ्नो सिजनको पहिलो ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को अग्रता दिलाइन्।

खेलको अन्तिम क्षण, ९०औँ मिनेटमा थपिएको सातौँ गोलसँगै वेलिंगटन फिनिक्सले निन्जा ए–लिगमा ७–० को सानदार जित सुनिश्चित गर्‍यो।

यसअघि फ्रान्समा व्यावसायिक लिग खेलेकी साम्बा यस सिजन वेलिंगटन फिनिक्समा आबद्ध भएकी हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै वेलिंगटनले प्रतियोगितामा आफ्नो दाबेदारी अझ बलियो बनाएको छ।