लन्डन । बेलायती सेनाको इतिहासमा ऐतिहासिक कीर्तिमान राख्न सफल लेफ्टिनेन्ट कर्नेल लालबहादुर गर्बुजा पुन मगर ओबीई, एमसीको निधन भएको छ ।
पुनको जनबरी ९ तारिखका दिन ९० वर्षको उमेरमा निधन भएको हो । नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका-८ नागीमा जन्मिएका उनी गोर्खा भर्तीको इतिहासमा लेफ्टिनेन्ट कर्नेलमा पदोन्नति हुने पहिलो गोर्खा अधिकृत हुन् । साथै, प्रतिष्ठित स्यान्डहर्स्टबाट कमिसन प्राप्त गर्ने पहिलो नेपाली सैन्य अधिकृतसमेत थिए ।
पुनको निधनमा मगर संघ यूके केन्ट शाखाले गहिरो शोक व्यक्त गरेको छ । शाखाका अध्यक्ष रिटायर्ड मेजर प्रेम बहादुर आले एमभीओ तथा शाखाका पदाधिकारी एवं सदस्यले संयुक्त शोक वक्तव्य जारी गर्दै पुनको निधनले मगर समुदाय र सिंगो नेपाली सैन्य इतिहासमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
‘हाम्रा गौरव, मार्गदर्शक एवं ऐतिहासिक व्यक्तित्व कर्नेल लालबहादुर गर्बुजा पुन मगरज्यूको निधनको खबरले हामी स्तब्ध भएका छौँ। उहाँले बेलायती सेनामा पुर्याउनुभएको योगदान र उहाँको उपलब्धि हरेक नेपाली र विशेषगरी मगर समुदायका लागि सदैव प्रेरणाको स्रोत बनिरहनेछ,’ वक्तव्यमा भनिएको छ ।
कर्नेल पुनले सैन्य जीवनमा प्राप्त गरेका ओबीई र एमसी जस्ता सम्मानले उनको अदम्य साहस र नेतृत्व क्षमतालाई प्रमाणित गरेको शाखाको भनाइ छ । उनको अन्तिम संस्कार र स्मृतिमा गर्ने कार्यक्रमबारे शाखाले सदस्यहरूलाई जानकारी गराउने जनाएको छ ।