राजीनामा नलेख्ने सोचमा पुगे बालेन, मनोनयन दर्तापछि स्वतः पद निष्क्रिय हुने

  • प्रकाशित मिति : २०८२ माघ ४, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने मनस्थितिमा पुगेका छन् ।

६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले राजीनामा लेखिराख्नु नपर्ने उनको सचिवालय स्रोतले बतायो ।



प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।

तर, नेपाली कांग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।

कांग्रेसको देउवा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता गुमाएपछि सर्वोच्च अदालत गुहारेको छ । कांग्रेसले हालेको रिटमा सर्वोच्चले कुनै अन्तरिम आदेश दिनसक्ने भएकाले पनि बालेन राजीनामा दिइहाल्न हच्किएका हुन् ।

बालेन मेयरबाट राजीनामा नदिइ आज रास्वपा कार्यालय प्रवेश गरेका छन् । उनले आजै रास्वपाको केन्द्रीय समिति वैठकमा भाग लिने कार्यक्रम छ ।

आजै ५ बजे उनी आफ्नो चुनावी अभियानमा जनकपुर जाँदैछन् । उपमेयरको सचिवालय स्रोतले राजीनामाबारे बालेनले कुनै जानकारी नगराएको बतायो ।