लन्डन। नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाले बेलायतमा दुई साताभित्र थप दुईवटा ‘इरो सुसी’ रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएका छन्। नयाँ आउटलेटहरू वकिङ र केन्टको टनब्रीज वेल्समा खुल्न लागेका हुन्।
यी थपिएसँगै बेलायतभर इरो सुसीका शाखा संख्या ३२ पुग्नेछ। शेर्पाका अनुसार नयाँ शाखामार्फत स्थानीय समुदायलाई स्वस्थ, उच्च–प्रोटिनयुक्त र गुणस्तरीय सुसी उपलब्ध गराइनेछ।
हाल बेलायतभर इरो सुसी रेस्टुरेन्टहरूले वार्षिक करिब ११ लाख ग्राहकलाई सेवा दिँदै आएका छन्। साल्मन सेलेक्सन, चिकेन कात्सु करी र चिकेन ग्योजा लोकप्रिय परिकार हुन्।
शेर्पाले सन् २०३० सम्म बेलायत, युरोप र मध्य पूर्वसहित विश्वभर कम्तीमा १०० शाखा विस्तार गर्ने लक्ष्य लिएको बताएका छन्। सन् २०१४ मा लन्डनको क्ल्यापहाममा पहिलो इरो सुसी खोलेका उनले सन् २०१९ देखि फ्रेन्चाइज मोडलमार्फत व्यवसाय विस्तार गर्दै आएका छन्।