नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको हो।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमै ६८ रन जोड्दा ९ विकेट गुमाउँदै इनिङ समाप्त गर्यो । कप्तान इन्दु बर्मा चोटका कारण बीचमै मैदान छाड्न बाध्य भइन् । सातौँ ओभरको चौथो बलमा चोट लागेपछि उनी मैदान फर्कन सकिनन्।
नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन् । स्कटल्यान्डतर्फ अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ तथा ओलिभिया बेल र रचेल स्लेटरले १–१ विकेट हात पारिन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमा सीमित भएको थियो । नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरे पनि अन्तिम चरणमा नियन्त्रण गुमाउँदा स्कटल्यान्डले प्रतिस्पर्धात्मक योगफल बनायो । पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९–६ को कठिन अवस्थामा पुर्याए पनि पछि ब्याटिङमा पुनरागमन हुन दियो।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिइन् । अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन्।
नेपालतर्फ मनीषा उपाध्यायले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन् भने रुबिना क्षेत्रीले ३ विकेट हात पारिन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट लिए।
यस प्रतियोगितामा नेपाल थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदै जिम्बाबेलाई मात्र हराउन सफल भयो । एक जितसहित नेपाल २ अंकमै सीमित रह्यो। आजको नतिजासँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्स पुग्ने ६ टोलीको टुंगो लागेको छ । समूह ‘ए’ बाट बंगलादेशसँगै आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।