लन्डन। मानवसेवा आश्रम यूके शाखाको अधिवेशन आगामी जुलाई १९ तारिख बेलायतको अल्डरसटमा आयोजना हुने भएको छ।
शाखा संयोजक सुनिलबाबु खड्काको अध्यक्षतामा आइतबार गिल्फोर्डस्थित न्यू रोज रेस्टुरेन्टमा सम्पन्न विशेष बैठकले उक्त निर्णय गरेको हो। बैठकले अधिवेशनको तयारीस्वरूप बेलायतका विभिन्न क्षेत्रमा मानवसेवा आश्रमको अभियान प्रवर्द्धन गर्ने उद्देश्यले बृहद् कार्यक्रमहरू आयोजना गर्ने निर्णय पनि गरेको छ।
निर्णयअनुसार साउथ इष्ट लन्डन, साउथ वेष्ट लन्डन, अल्डरसट, मिडल्यान्ड र स्कटल्यान्ड लगायत नेपालीहरूको उल्लेख्य बसोबास रहेका क्षेत्रमा कार्यक्रम गरिनेछ। ती कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित उनको टोलीको सहभागिता रहने जनाइएको छ।
मानवसेवा आश्रमले सन् २०८२ सालसम्म सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल निर्माण गर्ने लक्ष्यसहित राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको छ। उक्त अभियानलाई बेलायतबाट थप सशक्त सहयोग जुटाउने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गर्न लागिएको शाखाले जनाएको छ।
बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाहरूसँग समन्वयमा गरिने कार्यक्रममा आफ्नो पायक र अनुकूलताअनुसार सहभागी हुन बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई यूके शाखाले आह्वान गरेको छ।
शाखाका महासचिव यादव श्रेष्ठले सञ्चालन गरेको बैठकमा सहभागीहरूले विदेशमा रहेर पनि मातृभूमिमा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन तथा मानसिक एवं शारीरिक रूपमा कमजोर नागरिकहरूको सेवामा समर्पित मानवसेवा आश्रमको अभियानलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकमा सल्लाहकार तथा अभियन्ताहरू शिवजी श्रेष्ठ, चन्द्र अर्याल, सुरेन्द्र श्रेष्ठ, राजु आचार्य, विक्रम भट्टराई, देवेन्द्र सिंह श्रेष्ठ, मीन दर्लामी, रस्मिता दर्लामी, तुलसी फुयाँल, वसन्त गौतम, मञ्जु भण्डारी खरेल, जीवनबहादुर शाही, सुलोचना थापा, राधा गौतम, रामकृष्ण अर्याल, ललिता अर्याल, कमला खड्का, विवेक अधिकारी, प्रकाश भण्डारी, श्याम पाण्डे, माधवराज उप्रेती, राजु पाठक, पवित्रा भट्टराई, मीनु शाक्य श्रेष्ठ, सुमित्रा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सुयोग्य श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।