टी–२० विश्वकप अन्तर्गत आयोजक श्रीलंकाले लगातार तेस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ८ विकेटले हराएको हो ।
जितसँगै श्रीलंका सुपर एटमा प्रवेश गरेको छ भने अष्ट्रेलिया लगभग बाहिर भएको छ । अष्ट्रेलिया अब जिम्बाब्वेको हारको प्रार्थना गर्न बाध्य भएको छ । लगातार तीन जितसहित श्रीलंका ३ खेलबाट ६ अंकका साथ तालिकाको शीर्षस्थानमा छ ।
१८३ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमै १२ बल बाँकी छँदा दुई विकेट गुमाएर पछ्यायो ।
पाथुम निसान्काले विष्फोटक शतक प्रहार गरे । उनी ५२ बलमा १०० रनमा अविजित रहे । उनको ब्याटबाट १० चौका र ५ छक्का निस्कियो । जारी प्रतियोगितामा शतक बनाउने उनी पहिलो खेलाडी हुन् भने विश्वकपमा शतक बनाउने दोस्रो श्रीलंकाली खेलाडी हुन् । यसअघि २०१० विश्वकपमा माहेला जयवर्दनेले शतक बनाएका थिए ।
यस्तै, कुशल मेन्डिसले पनि अर्धशतक बनाए । ३८ बल खेलेका उनले ५१ रन जोडे । पवन रत्नायकेले अविजित २८ रनको योगदान दिए ।
बलिङतर्फ अष्ट्रेलियाका मार्कस स्टोइनिसले दुई विकेट लिए ।
त्यसअघि पल्लेकेले मैदानमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलिया २० ओभरमा १८१ रनमा अलआउट भयो ।
उसका लागि कप्तान मिचेल मार्श र ट्राभिस हेडले अर्धशतक प्रहार गरे । हेडले २९ बलमा ५६ तथा मार्शले २७ बलमा ५४ रन जोडे । हेडले ७ चौका र ३ छक्का तथा मार्शले ८ चौका र २ छक्का हिर्काए ।
यस्तै, जोस इङ्लिसले २७, ग्लेन म्याक्सवेलले २२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ श्रीलंकाका दुशान हेमन्थले तीन तथा दुश्मन्था चमिराले दुई विकेट लिए । यस्तै, दुनिथ वेल्लालागे, कामिन्दु मेन्डिस र महिश तिक्षणाले एक–एक सफलता हात पारे ।