लन्डन। पासा पुचः गुथि यूकेले आगामी १९ अप्रिल आइतबार डार्टफोर्डको सेन्ट्रल पार्कस्थित डार्टफोर्ड ओपन एयर थिएटरमा आयोजना गर्न लागेको तेस्रो लन्डन बिस्का जात्राको तयारी तीव्र बनाएको छ।
शनिबार साउथइस्ट लन्डनस्थित गोर्खा क्याप्रिकन क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जात्राबारे जानकारी दिएको हो। लन्डनस्थित नेपाली दूतावास र विभिन्न स्थानीय संघसंस्थाको सहकार्यमा कार्यक्रम हुने बताइएको छ।
जात्रा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ र करिब २,५०० दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। अनलाइन टिकट १० पाउण्ड र प्रवेशद्वारमा १५ पाउण्ड तोकिएको छ भने १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ।
कार्यक्रममा भैरव–भद्रकाली रथ तान्ने परम्परा, योसिन द्यो ढाल्ने, सिन्दूर जात्रा, धिमे–ढा बाजा र बाँसुरी प्रस्तुति लगायत नेवा सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ। साथै योमरी, समय बजीसहित नेवारी परिकारका फुड स्टल तथा विभिन्न व्यापारिक र सामुदायिक स्टलहरू पनि रहनेछन्।
आयोजकका अनुसार जात्राका लागि करिब २६ हजार पाउण्ड बजेट अनुमान गरिएको छ र कार्यक्रम सफल बनाउन करिब ८ महिनादेखि तयारी भइरहेको छ। कार्यक्रमको मुख्य प्रायोजक पेपरवर्क्स सोलुसन्स लिमिटेड रहेको छ।