प्रचण्डको बयान : २४ भदौको घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ

  • प्रकाशित मिति : २०८२ चैत्र ११, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कम्युनिस्ट पार्टी (नकेपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले २४ भदौको घटनामा आन्तरिक तथा बाह्य घुसपैठको सम्भावना देखिएको बताएका छन् ।

जाँचबुझ आयोगले दिएको बयानमा प्रचण्डले यस्तो बताएका हुन् ।



बयानमा उनले भनेका छन्, ‘भदौ २४ को घटनामा आन्तरिक तथा वाह्य घुसपैठको सम्भावना देखिन्छ । युवाहरूले भदौ २३ गते नै आन्त्दोलनमा घुसपैठ भएको भन्दै घर फर्कन आग्रह गरेका थिए । त्यसपछि देखिएका घटनाले गलत तत्वहरूले युवाहरूको भावनालाई प्रयोग गरेको संकेत गर्दछ ।’

संयोजक प्रचण्डले भदौ २३ गते युवाहरूको आक्रोश प्रदर्शनको रूपमा देखियो भने २४ गते उक्त आन्दोलनको स्वरूप बदलिएको र गलत तत्वहरूले त्यसलाई उपयोग गरेको बताएका छन् ।

बयानमा प्रचण्डले भनेका छन्, ‘भदौ २३ गते युवाहरूको आक्रोश प्रदर्शनको रूपमा देखियो भने २४ गते उक्त आन्दोलनको स्वरूप बदलिएको र गलत तत्वहरूले त्यसलाई उपयोग गरेको निष्कर्षमा म पुगेको छु ।’

उनले बयानमा भनेका छन्, ‘ भदौ २४ गते काठमाडौंमा म बस्दै आएको भाडाको निवास तथा चितवन स्थित घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । काठमाडौंमा मेरो आफ्नै घर छैन । मेरो सुपुत्री गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार निराधार हो । न त त्यस्तो नगद भेटिएको छ, न त हामीले कुनै अवैध आयस्रोतबाट आम्दानी गरेका छौं ।’

संयोजक प्रचण्डले भदौ २४ गते सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न सरकारी तथा निजी भवनहरूमा भएको तोडफोड, आगजनी र लुटपाट केवल सरकार विरुद्धको आक्रोश मात्र नभई व्यवस्था माथि नै प्रहार गर्ने नियोजित प्रयास भएको बयान दिएका छन् ।

आफ्नो पार्टीले जेनजेड आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न भने नभएको बयान प्रचण्डले दिएका छन् ।

उनले भनेका छन्, ‘यदि हाम्रो पार्टीसँग सम्बन्धित कोही व्यक्ति कानुन विपरीत क्रियाकलापमा संलग्न भएको प्रमाणित भए उसले कानुनी कारबाही भोग्नुपर्ने हाम्रो स्पष्ट धारणा छ ।’