एनपीएल–२ बाट क्यानलाई ९ करोड २१ लाख बचत

  • प्रकाशित मिति : २०८२ चैत्र २४, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आय–व्यय विवरण पारित गरेको छ। प्रस्तुत विवरणअनुसार प्रतियोगिताबाट क्यानले उल्लेख्य आम्दानी गरेको देखिएको छ।

क्यानका अनुसार एनपीएल–२ बाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ। प्रतियोगिता सञ्चालनका लागि २१ करोड ९६ लाख ५ हजार १२१ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। यसअनुसार बाँडफाँडअघि क्यानको कुल नाफा करिब २५ करोड ४० लाख रुपैयाँ पुगेको छ।



नियमअनुसार उक्त आम्दानीको ५० प्रतिशत रकम ८ वटा फ्रेन्चाइज टोलीहरूलाई वितरण गरिएको छ, जसअनुसार करिब १६ करोड १८ लाख रुपैयाँ बाँडिएको छ। बाँकी रकमबाट क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ बचत गरेको जनाएको छ।

क्यानले प्रस्तुत गरेको विवरण गभर्निङ काउन्सिलमार्फत कार्यसमितिमा पेश गरिएको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो। एनपीएलको दोस्रो संस्करण आर्थिक रूपमा सफल देखिएको भन्दै यसले नेपाली क्रिकेटको व्यावसायिक विस्तारमा सकारात्मक संकेत दिएको क्यानको निष्कर्ष छ।