लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

  • प्रकाशित मिति : २०८२ चैत्र २४, मंगलवार
  • नेपाल टेल संवाददाता

आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला यही महिना नेपालमा आयोजना हुने भएको छ। मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि सुरु हुने तय भएको शृङ्खला स्थगित गरिएको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका सार्वजनिक गर्दै नेपालसहित यूएई र ओमान सहभागी शृङ्खला आगामी अप्रिल २५ देखि सुरु हुने जनाएको छ। शृङ्खलामा कुल ६ खेल हुनेछन्, जहाँ लिग–२ को ढाँचाअनुसार तीनै टोलीले एक–अर्काविरुद्ध दुई–दुई खेल खेल्नेछन्।



तालिकाअनुसार उद्घाटन खेलमा नेपाल र यूएई आमनेसामने हुनेछन्। दोस्रो खेल अप्रिल २७ मा ओमान र यूएईबीच हुनेछ। त्यसपछि अप्रिल २९ मा नेपाल र ओमान भिड्नेछन्। मे १ मा नेपाल र यूएईबीच पुनः खेल हुनेछ भने मे ३ मा यूएई र ओमान आमनेसामने हुनेछन्। शृङ्खलाको अन्तिम खेल मे ५ मा नेपाल र यूएईबीच हुनेछ।