नेपाली स्ट्रिट फुडलाई ‘फास्ट फुड क्याजुएल रेष्टुरेन्ट’ मार्फत् बेलायती ग्राहकमाझ पस्किने लक्ष्यसहित शुरु भएको ‘म:म एण्ड को’ अब लन्डन बेक्सलीहिथमा पनि खुल्ने भएको छ।
सन् २०२५ सेप्टेम्बरमा पहिलोपटक लन्डन लुइसममा स्थापना भएको रेष्टुरेन्टको दोस्रो शाखा यही २५ अप्रिल शनिबार बेक्सलीहिथमा औपचारिक ‘ओपनिङ’ हुन लागेको हो।
बेक्सलीहिथ ब्रोडवेस्थित ब्रोडवे सपिङ सेन्टर (एच एण्ड एमको साइड र आइसल्यान्डको अपोजिट) मा सञ्चालन हुने रेष्टुरेन्ट शनिबार बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम छ। रेष्टुरेन्ट उद्घाटनको उपलक्ष्यमा पहिलो ४० ग्राहकलाई निशुल्क म:म वितरण गरिंदैछ भने त्यसपछि पूरै दिन सबै ग्राहकका लागि २० प्रतिशत छुट उपलब्ध गराइनेछ।
इरो सुसी ब्रान्डमा बेलायतमा झण्डै तीन दर्जन फ्रेन्चाइज सञ्चालन गर्दै आएका युवा नेपाली व्यवसायी छोङ शेर्पा र रिया मनी ट्रान्सफरमा डेढ दशकसम्म यूके र आयरल्यान्ड हेर्ने सेल्स तथा अपरेसन डाइरेक्टरका रुपमा अनुभव लिएका तेञ्जिङ शेर्पाले ‘म:म एण्ड को’ स्थापना गरेका हुन्।
नेपालदेखि तिब्बत र दार्जिलिङसम्मको नेपाली तथा हिमालयन फुडको मौलिक स्वादलाई बेलायती ग्राहकमाभफ पस्किने लक्ष्य रेष्टुरेन्टको रहेको को-फाउन्डर तथा निर्देशक तेञ्जिङ शेर्पा बताउँछन्।
‘हिमालयन स्ट्रिट बाइट्स’ स्लोगन रहेको ‘म: म एण्ड को’ को मेन्यूमा प्राथमिक र प्रमुख डिस नै म:म छ । भेगनदेखि चिकन र पोर्कसम्मका म:म स्टिम्ड, कोथे (पान फ्राइड), डिप फ्राइड, चिल्ली, झोललगायतका विभिन्न स्वरुपमा उपलब्ध गराइन्छ।
त्यस्तै, राइस एण्ड नुडल्सअन्तर्गत फ्राइड राइस, चाउमिन, थुक्पा, किमा नुडल्सदेखि साइड डिसका रुपमा चिल्ली चिकन, चिल्ली चिप्स, चटपटे, लाफिङ, आलु निम्कि, चिकन तथा भेज मञ्चुरियनसम्मका परिकार रेष्टुरेन्टमा पाइन्छन्।
पेय पर्दामा सामान्य सफ्ट ड्रिंक, स्मुदी र लस्सीदेखि इष्ट एशियातिर लोकप्रिय माचा र नेपाली मसाला चियासम्म उपलब्ध छन् । ग्राहकका लागि वियर र वाइनका केही विकल्प समेत प्रवन्ध गरिएको छ।
रेष्टुरेन्ट हरेक दिन बिहान ११ देखि राती १० बजेसम्म खुला रहनेछ । रेष्टुरेन्टमा भित्र र बाहिर गरी करिब ४५ ग्राहकको सिटिङ क्षमता छ।
खाना अर्डरका लागि रेष्टुरेन्टमा ग्राहकमैत्री सहज र झञ्झटमुक्त मेसिनहरु राखिएका छन्। त्यस्तै, अनलाइन क्लिक एण्ड कलेक्ट, सेल्फ सर्भिस, क्यूआरजस्ता विकल्पहरु पनि उपलब्ध गराइएको छ । डेलिभरु, उबर इट, जस्ट इटलगायतबाट डेलिभरी अर्डर समेत गर्न सकिन्छ।
इरो सुसी फ्रेन्चाइजका फाउन्डरसमेत रहेका कम्पनीका को-फाउन्डर छोङ शेर्पाले ‘म:म एण्ड को’ लाई पनि अन्ततः फ्रेन्चाइजकै अवधारणामा बेलायतभर बिस्तार गर्दै जाने लक्ष्य रहेको बताएका छन्।
छोटो छरितो मेन्यू, गुणस्तरीय खाना र ग्राहकमैत्री सेवामार्फत् समग्र ग्राहक अनुभवलाई यादगार बनाउने लक्ष्य रेष्टुरेन्टको छ।
बेक्सलीहिथ शाखा सञ्चालनपछि ‘म:म एण्ड को’ ले केहि महिनाभित्रै लन्डन टावर ब्रिजमा तेस्रो शाखा सुरु गर्ने तयारी गरिरहेको छ।