आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २८९ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ९४ बलमा १३ चौका र १ छक्कासहित १०० रन जोडे। एकदिवसीय खेलमा उनको यो दोस्रो शतक हो।
त्यस्तै, गुल्सन झाले ३८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए। ओपनिङमा आएका विनोद भण्डारीले ७९ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए, भने ओपनिङमा मौका पाएका डेब्यू खेलाडी अर्जुन कुमालले ११ रन जोडे।
बलिङमा युएईका जुनइद सिद्धिकी र अजय कुमारले २–२ विकेट लिए।
सिरिजमा नेपालले दुई खेल खेल्दा पहिलो खेलमा युएईलाई हराएको थियो, भने दोसा्रे खेलमा ओमानसँग पराजित भएको थियो।