लन्डन । सेन्टर फर नेपाल स्टडिज यूके (सिएनएस यूके) ले सोसल साइन्स बहासँगको सहकार्यमा सञ्चालन गरेको मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति यो साल सिर्जना गौतमलाई दिने घोषणा गरेको छ।
सिएनएस यूकेले बहासितको सहकार्यमा २०२५ डिसेम्बरमा नेपालका विश्वविद्यालयमा मास्टर्स तहमा अध्ययनरत विद्यार्थीहरूलाई फील्डवर्क तथा अनुसन्धान लेखनका लागि छात्रवृत्ति आवेदन आह्वान गरेको थियो । प्राप्त नौ आवेदनमध्ये चारजनालाई मार्च २०२६ मा काठमाडौंस्थित बहामा आयोजित लिखित परीक्षाका लागि छानिएको थियो । त्यसपछि अप्रिल २०२६ मा तीन जनाको अन्तर्वार्ता लिइएको थियो ।
छानिएका उम्मेदवारहरूको मूल्यांकनपछि सिएनएस यूके र बहाका प्रतिनिधिहरू सम्मिलित चयन समितिको सिफारिसअनुसार बुढानीलकण्ठ–१०, काठमाडौंकी गौतमलाई यस वर्षको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको हो ।
गौतम त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र क्याम्पसको मनोविज्ञान तथा दर्शनशास्त्र विभागमा मनोविज्ञान विषयमा मास्टर्स अध्ययनरत छिन्। उनको प्रस्तावित शोध–विषय ‘Symbolic Container: An Ethnographic Study of Archetypal Co-Regulation in Kathmandu’s Ritual Life’ रहेको छ।
सिएनएस यूके र बहाले सबै आवेदकप्रति आभार व्यक्त गर्दै विजेता गौतमलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्। छात्रवृत्तिको रकम नेपाली रुपैयाँ ५० हजार रहेको छ। साथै, सिएनएस यूके वा बहाका तोकिएका अनुसन्धानकर्ताबाट विषयगत शैक्षिक मार्गदर्शन पनि प्रदान गरिनेछ।
अनुसन्धानको संक्षिप्त प्रतिवेदन सिएनएस यूकेको वेबसाइट वा अन्य उपयुक्त माध्यममा प्रकाशित गरिनेछ। छात्रवृत्ति पाउने विद्यार्थीलाई वार्षिक काठमान्डू सम्मेलनमा आफ्नो शोध–कार्य प्रस्तुत गर्न प्रोत्साहित गरिनेछ।
बेलायत पुग्ने पहिलो नेपाली मोतीलाल सिंहको स्मृतिमा सिएनएस यूकेले सो छात्रवृत्ति सन् २०१६ मा स्थापना गरेको हो। यस छात्रवृत्तिको उद्देश्य नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मौलिक, गुणस्तरीय र अनुसन्धानमूलक मास्टर्स शोध–कार्य उत्पादन गर्न सहयोग गर्नु हो ।