बेलायतमा सुरक्षा चिन्ता बढ्दो, अमेरिकाद्वारा नागरिकलाई सतर्क रहन चेतावनी

  • प्रकाशित मिति : २०८३ बैशाख २२, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायत सरकारले आतंकवादी खतराको स्तर ‘सब्स्टान्सियल’बाट बढाएर ‘सिभियर’ बनाएसँगै अमेरिकाले आफ्ना नागरिकलाई सतर्क रहन चेतावनी दिएको छ ।

बेलायत सरकारले विहिबार आतंकवादी आक्रमणको खतरा उच्च रहेको घोषण गरेको थियो । उत्तरी लण्डनको गोल्डर्स ग्रीन क्षेत्रमा दुई जनामाथि भएको चक्कु आक्रमणपछि उक्त निर्णय आएको हो ।



तर अधिकारीहरूले खतरा केवल एउटै घटनाका कारण नभइ पछिल्लो समय समग्र रूपमा बढ्दो आतंकवादी गतिविधिका कारण जारी गरिएको बताएका छन् ।

जसका कारण लण्डनस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । दूतावासले सार्वजनिक स्थानमा सावधानी अपनाउन, कम प्रोफाइलमा रहन र व्यक्तिगत सुरक्षा योजना पुनः मूल्याङ्कन गर्न सुझाव दिएको छ ।

विशेषगरी, धार्मिक स्थल, पर्यटकीय क्षेत्र र भीडभाड हुने ठाउँहरूमा जोखिम बढी हुन सक्ने चेतावनी दिइएको छ ।

अमेरिकी दूतावासका अनुसार, बेलायतमा बढ्दो खतरा इस्लामिक चरमपन्थी र अतिवादी दक्षिणपन्थी समूहहरूबाट उत्पन्न भएको देखिन्छ ।

बेलायत सरकारले नयाँ घोषणासँगै देशभर सुरक्षा कडाइ गरिने र सार्वजनिक स्थलहरूमा प्रहरी उपस्थिति बढाइने जनाउँदै नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।