बेलायतका नेपाली पत्रकारलाई एआई प्रशिक्षण

  • प्रकाशित मिति : २०८३ बैशाख २२, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा ‘पत्रकारितामा एआई: अवसर र चुनौती’ विषयक एक दिने विशेष भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रविधिको द्रुत विकाससँगै पत्रकारितामा भित्रिएको कृत्रिम बौद्धिकता (एआई) लाई कसरी रचनात्मक र मर्यादित बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो।



नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक लिलाराज भट्टराईले तालिमको सहजीकरण गर्दै पत्रकारितामा एआईको प्रयोग गर्दा ‘पारदर्शिता’ सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘एआईको सहयोगमा तयार पारिएका सामग्रीहरूमा एआई प्रयोगको स्पष्ट जानकारी दिनुपर्छ। साथै, सो सामग्री कुन सम्पादकले सम्पादन गरेको हो भन्ने समेत उल्लेख गर्ने अभ्यास सुरु गर्नुपर्छ ।’

प्रशिक्षक भट्टराईले समाचार संकलन, लेखन र सम्पादन प्रक्रिया सहज बनाउन उपयोगी हुने विभिन्न आधुनिक एआई टुल्सहरूको प्रयोगबारे समेत पत्रकारहरूलाई व्यावहारिक जानकारी दिनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले युके शाखाले नयाँ प्रविधिका बारेमा समयसान्दर्भिक तालिम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो।

उहाँले पत्रकारहरूले प्रविधिसँग डराउनु भन्दा पनि त्यसलाई पछ्याउँदै व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा युकेमा कार्यरत विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा पत्रकारहरू वरिष्ठ पत्रकार भगीरथ योगी, शाखा सल्लाहकारहरू नरेश खपांगी मगर, ध्रुवराज अर्याल र नवीन पोखरेल, शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, विश्वदीप तिगेला, श्याम राना मगर, किरण राई, गोमा राना, नगेन्द्र नेम्वाङ, दूत पुन, डा शिव तिवारी, पूर्व उपाध्यक्ष श्याम लुइटेल आदिको सहभागिता थियो ।

शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव खेम रानाभाटले सञ्चालन गरेका थिए ।