प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, सपना प्रधान मल्ललाई सिफारिस गर्न माग

  • प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले नयाँ प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी संवैधानिक परिषद्को सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट पेश गर्दै वरिष्ठताको चौथो क्रममा रहेका न्यायाधीश मनोज कुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु संविधानको आधारभूत मर्म र न्यायपालिकाको स्वतन्त्रताको सिद्धान्तविपरीत भएको जिकिर गरेका छन्।



रिटमा उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गर्ने तथा न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा ल्याउने खतरा पैदा गरेको उल्लेख गरिएको छ। उनले संवैधानिक परिषद्को निर्णय बदर गरी वरिष्ठताको पहिलो क्रममा रहेकी न्यायाधीश सपना प्रधान मल्ल लाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन्।

त्रिपाठीका अनुसार रिट हाल दर्ता प्रक्रियामा छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताको पहिलो नम्बरमा रहेकी सपना प्रधान मल्ललाई सिफारिस नगरी चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह ले उक्त निर्णय बहुमतबाट गराएको बताइएको छ।