बेलायतको स्थानीय निर्वाचनः रिफर्म यूकेको अग्रता, लेबरलाई ठूलो धक्का

  • प्रकाशित मिति : २०८३ बैशाख २६, शनिबार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतका तीन राज्य इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा भएको स्थानीय निर्वाचनको मतगणना सुरु भएको छ ।

१३६ स्थानीय काउन्सिलका ५ हजार १४ सिटका लागि बिहीबार राति १० बजे मतदान सम्पन्न भएपछि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार नाइजेल फराज नेतृत्वको रिफर्म यूकेले बलियो अग्रता बनाएको छ ।
हालसम्म प्राप्त नतिजाअनुसार रिफर्म यूकेले ६३८ सिट जितेको छ । लिबरल डेमोक्र्याटले ४१३ सिट,कन्जरभेटिभ पार्टीले ३६१ सिट र सत्तारुढ लेबर पार्टी ३४८ सिटसहित चौथो स्थानमा छ ।



मतगणना अझै जारी रहेको र अन्तिम परिणाम आज रातिसम्म आउने अनुमान गरिएको छ । प्रारम्भिक नतिजाले प्रधानमन्त्री केयर स्टारमर नेतृत्वको सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का पुग्ने संकेत गरेको छ । स्टारमरले लेबर पार्टीको सुरुवाती हारको जिम्मेवारी लिएका छन् ।

उता, रिफर्म यूकेका नेता नाइजेल फराजले पूर्वी लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै इंग्ल्याण्डको प्रारम्भिक नतिजाले वास्तविक ‘ऐतिहासिक परिवर्तन’ देखाएको बताएका छन् । उनलाई पार्टी समर्थकहरूले न्यानो स्वागत गरेका थिए ।

बेलायतको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु गराएको छ ।

रिफर्म यूकेको उदय, लेबरको अपेक्षाकृत कमजोर प्रदर्शन र कन्जरभेटिभको निरन्तर दबाबबीच यो निर्वाचन बेलायती राजनीतिक परिदृश्यका लागि महत्वपूर्ण मानिएको छ ।

स्कटल्याण्ड र वेल्समा भने मतगणना स्थानीय समयअनुसार बिहान ९ बजेपछि सुरु हुँदैछ । स्कटल्याण्ड र वेल्सका मतदाताले आफ्नो राष्ट्रिय संसदका लागि प्रतिनिधि चयन गर्नेछन् भने इंग्ल्याण्डका विभिन्न काउन्सिलमा काउन्सिलर तथा मेयर चयन हुनेछन् ।

यसपटकको निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूको उपस्थिति पनि उल्लेख्य देखिएको छ । लेबर, कन्जरभेटिभ, लिबरल डेमोक्र्याट, ग्रिन तथा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीबाट समेत उम्मेदवारी परेकाले नेपाली मूलका उम्मेदवारको संख्या डेढ दर्जनभन्दा बढी पुगेको छ ।

यस पटकको चुनावमा नेपाली दम्पति नै काउन्सिलर पदका उम्मेदवार छन् । लन्डनको रोयल बरो अफ ग्रीनवीचमा पूर्व मेयर जीत रानाभाट प्लमस्टिड एण्ड ग्लिन्डन वार्डबाट उम्मेदवार छन् । उनकी पत्नी गौमाया गुरुङ सोही बरोकै एबिउड वार्डबाट उम्मेदवार बनेकी छन् । उनीहरू दुवै लेबर पार्टीका हुन् ।

यसैगरी कतिपय क्षेत्रमा नेपाली मूलका उम्मेदवारबीच नै प्रतिस्पर्धा भइरहेको छ । पूर्व मेयर रानाभाट उम्मेदवार रहेको प्लमस्टिड एण्ड ग्लिन्डन वार्डमा लेबरका पूर्व नेता जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा नरेन्द्र कंडेल पनि चुनावी मैदानमा छन् ।

त्यस्तै, अल्डरसटको वेलिङटन वार्डमा कन्जरभेटिभ पार्टीबाट डा. विशाल गुरुङ र लेबर पार्टीबाट उत्तरबहादुर गुरुङ उम्मेदवार छन् । यी दुवै वार्डमा तीन–तीन जना काउन्सिलर निर्वाचित हुने भएकाले प्राविधिक रूपमा नेपाली मूलका दुवै उम्मेदवार निर्वाचित हुने सम्भावना रहन्छ । तर, मत विभाजन भएमा एक उम्मेदवार विजयी हुँदा अर्को पराजित हुने जोखिम पनि उत्तिकै छ ।
पूर्व डीएसपी शिवजी श्रेष्ठ लेबर पार्टीबाट बेजिङस्टकको ब्राइटनहिल वार्डमा चुनावी मैदानमा छन् । ज्ञानप्रसाद गुरुङ कन्जरभेटिभ पार्टीबाट स्विन्डनको पार्क साउथमा उम्मेदवार बनेका छन् ।

त्यस्तै, प्रतीक्षा गुरुङ लेबर पार्टीबाट रिडिङको ब्याटल वार्डमा उम्मेदवार छिन् भने इन्द्राहाङ लिम्बु फेलथाममा कन्जरभेटिभ उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् ।

पूर्व काउन्सिलर तथा ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष जीव नारायण बेल्वासे पनि दोस्रोपटक काउन्सिलर पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । बेलायतमा नेपाली जनसंख्या उल्लेख्य रहेको रसमोर बरोअन्तर्गत म्यानोर पार्क वार्डबाट उनी कन्जरभेटिभ पार्टीका उम्मेदवार बनेका हुन् । बेल्वासे विगत २५ वर्षदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

नेपाली मूलका उम्मेदवारहरूको बढ्दो सहभागिताले बेलायतको स्थानीय राजनीतिमा नेपाली समुदायको उपस्थिति थप बलियो बन्दै गएको संकेत गरेको छ ।