यूके स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवार धेरैले जिते, केही पराजित

  • प्रकाशित मिति : २०८३ बैशाख २६, शनिबार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निकाय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरुको लागि मिश्रित नतिजा आएको छ ।

अनुमानित डेढ दर्जन बढी नेपाली मूलका उम्मेदवारमध्ये धेरै काउन्सिलर पदमा निर्वाचित हुंदा केही पराजित भएका छन्।



शुक्रबार अपरान्हसम्म हामीलाई प्राप्त सूचनाअनुसार लन्डन रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लिन्डनमा पूर्व मेयर जीत रानाभाट काउन्सिलर निर्वाचित भएका छन् ।

रानाभाट १६१० मत प्राप्त गरी निर्वाचित भएका हुन्।

सन् २०२२ मा पहिलोपटक काउन्सिलर निर्वाचित उनले यसअघि उक्त बरोको मेयर तथा सोही बरोको मेयर तथा उपमेयर जिम्मेवारी सम्हालिसकेका छन् ।

सोही बरोकै एबिउड वार्डमा रानाभाट पत्नी गौमाया गुरुङ रानाभाट समेत पहिलोपटक काउन्सिलर निर्वाचित भएकी छन् । रानाभाट दम्पत्ति दुवै लेबर पार्टीका हुन् ।

उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानर पार्क वार्डमा जीव नारायण बेल्वासे र वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तरबहादुर गुरुङ काउन्सिलर निर्वाचित भएका छन् ।

कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे दोस्रोपटक तथा लेबर उम्मेदवार गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।

त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डबाट पनि लेबर पार्टीकी उम्मेदवार प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित भएकी छन्।

उनी रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन्।

कयौं पराजित
बेलायतमा यसपटकको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका अरु कयौं उम्मेदवार भने पराजित बनेका छन्।

रश्मोरको वेलिङटन वार्डमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार डा विशाल गुरुङ दोस्रो प्रयासमा पनि सफल हुन सकेनन् । बेलायतको नेपाली समुदायमा चिरपरिचित युवा सामाजिक अभियन्ता उनी बेलायती राजनीतिमा पनि सक्रिय रहंदै आएका छन् ।

उता, बेजिङस्टोकमा काउन्सिलर निर्वाचन लडेका पूर्व डिएसपी शिवजी श्रेष्ठ पनि पराजित भए । उनी लेबर पार्टीबाट उम्मेदवार बनेका थिए ।

यता, लन्डनको ग्रीनवीच बरोमा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा उम्मेदवारी दिएका नरेन्द्र कंडेल र टम अधिकारी पनि पराजित भए ।

कंडेल पूर्व मेयर रानाभाट निर्वाचित भएको प्लमस्टेड एण्ड ग्लिन्डन वार्डबाट तथा अधिकारी वुल्लीचबाट उम्मेदवार थिए।

लन्डनको हन्सलो बरोको फेल्थाम नर्थमा कञ्जरभेटिभ उम्मेदवार इन्द्रहांग लिम्बू पराजित भए ।

त्यस्तै, स्वीन्डनमा पनि कञ्जरभेटिभ पार्टीकै उम्मेदवार ज्ञानप्रसाद गुरुङ पराजित भए ।

नेपाली मूलका अरु केही उम्मेदवारहरुको नतिजा प्राप्त हुन बाँकी छ ।