अमेरिका–स्कटल्यान्डसँग हुने लिग–२ शृंखलाका लागि टिकट मूल्य सार्वजनिक

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका खेलका लागि रु २०० र अन्य खेलका लागि रु १०० टिकट मूल्य तोकेको हो ।

यसअघि ओमान र यूएईसँगको शृंखलामा महँगो टिकटका कारण दर्शक उपस्थिति कमजोर भएपछि यस पटक सुरुदेखि नै मूल्य घटाइएको क्यानले जनाएको छ ।



शृंखलाका लागि नेपाली टोली घोषणा भइसकेको छ । कप्तान रोहित पौडेल को नेतृत्वमा टोली मैदान उत्रनेछ । उपकप्तानमा दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

नेपालले मंगलबार घरेलु मैदानमा स्कटल्यान्डसँग पहिलो खेल खेल्दै शृंखला सुरु गर्नेछ । त्यसपछि शनिबार अमेरिका र अर्को सोमबार स्कटल्यान्डसँग पुनः प्रतिस्पर्धा गर्ने तालिका छ ।

क्यानले अघिल्लो शृंखलाबाट बसिर अहमदलाई बाहिर राख्दै इशान पाण्डेलाई टोलीमा समावेश गरेको छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।