एल क्लासिकोः बार्सिलोनालाई उपाधि जित्ने अवसर, रियल भने विवादको दलदलमा

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

एल क्लासिको सामान्य खेल कहिल्यै हुँदैन। तर आइतबार मध्यरातमा हुने बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त यसपटक झन् विशेष बनेको छ।

रियलभन्दा ११ अंकले अगाडि रहेको बार्सिलोनालाई क्याम्प नोउमा जित वा बराबरी गरे मात्रै पनि लगातार दोस्रो पटक ला लिगा उपाधि सुनिश्चित हुनेछ।



यता रियल भने खराब अवस्थाबाट गुज्रिरहेको छ। पछिल्लो सातामा टोली फुटबलभन्दा बढी ड्रेसिङ रुम विवाद, खेलाडीबीचको झगडा र आन्तरिक अनुशासन कारबाहीका कारण चर्चामा रह्यो।

यही अवस्थाबीच रियल प्रशिक्षक अल्भारो अर्बेलोआ सामु सबैभन्दा ठूलो चुनौती भनेको विभाजित देखिएको टोलीलाई एकताबद्ध बनाएर एल क्लासिकोका लागि तयार गर्नु हो।

अर्कोतर्फ बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले शान्त र आत्मविश्वासी वातावरणमा टोलीलाई तयार गरेका छन्। बार्सिलोना आफ्नै समर्थकमाझ उपाधि जित्ने लक्ष्यमा छ।

यस सिजनको पहिलो एल क्लासिको अक्टोबरमा भएको थियो, जहाँ रियलले घरेलु मैदान सान्टियागो बेर्नाबेउमा २–१ को जित निकालेको थियो। त्यतिबेला उपाधि प्रतिस्पर्धा खुला थियो र टोलीका प्रशिक्षक जाबी आलोन्सो थिए।

यसपटक भने अवस्था बिल्कुल फरक छ। बार्सिलोनासँग आफ्ना कट्टर प्रतिद्वन्द्वीविरुद्ध जित्दै घरेलु मैदानमै उपाधि उचाल्ने अवसर छ भने रियल म्याड्रिड हार टार्ने प्रयासमा छ।

शनिबार अर्बेलोआको पत्रकार सम्मेलनमा मिडफिल्डर फेडेरिको भाल्भेर्दे र ओरेलियन चुआमेनी बीचको विवादबारे धेरै प्रश्न उठाइयो।

उक्त घटनापछि भाल्भेर्दे इन्जुरीका कारण एल क्लासिकोबाट बाहिरिएका छन् भने दुवै खेलाडीलाई क्लब अनुसन्धानपछि पाँच लाख युरो जरिवाना गरिएको छ।

चुआमेनी शुक्रबार प्रशिक्षणमा फर्किएका थिए र खेलका लागि उपलब्ध छन्। तर अर्बेलोआले उनी सुरुवाती टोलीमा रहने वा नरहनेबारे स्पष्ट पारेनन्।

अर्बेलोआले भने, ‘खेलाडीहरूले आफ्नो गल्ती स्वीकार गरेका छन्, माफी मागेका छन्। मेरो लागि त्यो पर्याप्त हो। उनीहरूको व्यावसायिकतामाथि प्रश्न उठाउन म दिनेछैन।’

उनले ड्रेसिङ रुममा विवाद हुनु ठूलो कुरा नभएको पनि बताए। उनले भने, ‘मैले आफ्नो करिअरमा एक खेलाडीले अर्को खेलाडीतर्फ गल्फ क्लब घुमाएको समेत देखेको छु।’

उनले सन् २००७ मा लिभरपुलमा हुँदा भएको घटनालाई सम्झिएका थिए, जहाँ क्रेग बेलामी र जोन आर्ने रिसेबीच प्रशिक्षण शिविरमा झगडा भएको थियो।

अर्बेलोआले थपे, ‘यस्ता घटना फुटबलमा भइरहन्छन्। हामी दुर्भाग्यशाली थियौँ कि फेडेलाई चोट लाग्यो।’

उनले यसको जिम्मेवारी आफूले लिन तयार रहेको पनि बताए। यद्यपि विवादका बीच पनि अर्बेलोआले टोलीको ध्यान एल क्लासिकोमै केन्द्रित रहेको बताए।

उता बार्सिलोनाले भने खेलअघि निकै सकारात्मक वातावरण प्रस्तुत गरेको छ। क्लबले प्रशिक्षणका रमाइला तस्वीर र भिडियो सार्वजनिक गर्दै टोलीलाई ‘एउटा ठूलो परिवार’ भनेर वर्णन गरेको थियो।

फ्लिकले भने, ‘हामी लगातार दोस्रो उपाधि जित्न चाहन्छौँ। यो स्पेनमा सामान्य कुरा होइन। हामीलाई कसरी खेल्ने भन्ने स्पष्ट छ। घरेलु मैदानमा जित्न चाहन्छौँ।’

रियल मड्रिडभित्रको विवादबारे सोध्दा फ्लिकले भने, ‘यस्ता घटना संसारभर हुन्छन्। म अलिकति अचम्मित भएँ, तर त्यो मेरो क्लब होइन, त्यसैले म धेरै सोच्दिनँ।’

उनले आफ्नो टोलीमा एकताको महत्त्वबारे जोड दिँदै भने, ‘सबै एउटै दिशामा अघि बढ्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’ फ्लिकले किलियन एम्बाप्पेलाई ‘विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक’ भन्दै उनको प्रशंसा पनि गरे।

आइतबारको एल क्लासिको दुवै टोलीका लागि अत्यन्त महत्त्वपूर्ण छ। रियल प्रतिष्ठाका लागि खेल्दैछ भने बार्सिलोना इतिहासको संघारमा उभिएको छ।

यदि बार्सिलोनाले जित निकाल्यो भने टोली ९१ अंकमा पुग्नेछ र तीन खेल बाँकी रहँदा ला लिगाको १०० अंकको कीर्तिमान बराबरी गर्ने यात्रामा अघि बढ्नेछ।

यो कीर्तिमान पहिलो पटक जोसे मौरिन्होको नेतृत्वमा रहेको रियलले सन् २०११–१२ मा बनाएको थियो। त्यसको एक वर्षपछि टिटो भिलानोभको बार्सिलोनाले त्यसलाई बराबरी गरेको थियो। त्यसयता कुनै टोलीले १०० अंक पुर्‍याउन सकेको छैन।

खेल समयः मध्यरातमा १२ः४५ बजे