नेपाललाई अन्तिम ओभरमा झट्का ! स्कटल्यान्डसँग २ रनले पराजित

बहादुरीपूर्वक लडे गुल्शन, तर पुगेन दुई रन

  • प्रकाशित मिति : २०८३ बैशाख २९, मंगलवार
  • नेपाल टेल संवाददाता

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजय बेहोरेको छ। वर्षाका कारण डीएलएस (डकवर्थ–लुइस–स्टर्न) मेथड लागू भएपछि छोट्याइएको खेलमा नेपालले अन्तिमसम्म संघर्षपूर्ण प्रदर्शन गरे पनि जित हात पार्न सकेन।

स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो। वर्षाले खेल प्रभावित भएपछि लक्ष्य संशोधन गर्दै नेपाललाई ३९ ओभरमा २२१ रनको लक्ष्य दिइएको थियो।



लक्ष्य पछ्याउने क्रममा नेपालले उत्कृष्ट सुरुआत र मध्यक्रमको मजबुत साझेदारीका बाबजुद ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो र २ रनले पराजित भयो।

नेपालका लागि गुलशन झा सर्वाधिक आकर्षण बने। उनले अविजित ३५ बलमा २ चौका र ५ छक्कासहित ६१ रनको विस्फोटक पारी खेले। दीपेन्द्र सिंह ऐरीले ४९ बलमा ५ चौका र १ छक्कासहित ५५ रनको महत्वपूर्ण योगदान दिए भने कप्तान रोहित पौडेलले ४६ बलमा ३२ रन जोडे।

नेपालले अन्तिम ओभरसम्म खेललाई रोमाञ्चक बनाएको थियो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा पनि नेपाल लक्ष्यसम्म पुग्न सकेन। स्कटल्यान्डका ब्राडली करीले किफायती बलिङ गर्दै ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए र खेल स्कटल्यान्डको पक्षमा मोडियो।

यस हारसँगै नेपालले प्रतिस्पर्धात्मक खेल देखाए पनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा ठूलो अवसर गुमाएको छ।