राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ।
शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहितको छलफलपछि निलम्बन फुकुवा गर्ने सहमति बनेको हो। एन्फा महासचिवसहितका पदाधिकारीले मन्त्रीसँग भेटवार्ता गरेपछि निर्णय अघि बढाइएको बताइएको छ।
एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार निलम्बन फुकुवा भएको औपचारिक पुष्टि भइसकेको छ। उनले यसबारे फिफालाई जानकारी गराएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए। साथै, निलम्बन फुकुवासँगै नेपाली महिला फुटबल टोलीको साफ महिला च्याम्पियनसिपमा सहभागिता सम्भावना बढेको उनले उल्लेख गरे।
यसअघि राखेपले एन्फाले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
नयाँ सहमतिपछि फुटबल प्रशासनमा देखिएको विवाद केही हदसम्म समाधानतर्फ अघि बढेको र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता सहज हुने अपेक्षा गरिएको छ।