इरानको केसम टापुमा अवैध सामान ओसारपसार तथा तस्करी आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै थुनामै रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ । यसअघि उनी रिहा भएको भनेर सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकार गर्दै मन्त्रालयले त्यसबाट सिर्जित अन्योलप्रति क्षमायाचनासमेत गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार अमेरिका–इजरायल र इरानबीच द्वन्द्व सुरु हुनुअघि नै सन् २०२६ जनवरीको सुरुआतमा अमृत झासहित ७ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले केसम टापुबाट नियन्त्रणमा लिएका थिए ।
मन्त्रालयका अनुसार गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सुल शहराम शान्तेईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको अनौपचारिक जानकारी दिएका थिए । सोही सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जालमार्फत झा रिहा भएको उल्लेख गरेका थिए ।
तर केही दिनपछि प्राप्त थप जानकारीमा अमृत झा रिहा नभएको र उनको मुद्दामा अदालतले ‘विज्ञको रिपोर्ट’ माग गरेको खुल्न आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले झाका परिवारलाई समेत वास्तविक अवस्था जानकारी गराइसकेको उल्लेख गरेको छ ।
मन्त्रालयले अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा रिहा भएको सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र असुविधाप्रति क्षमा माग्दै हाल विशेषज्ञ टोलीले प्रतिवेदन तयार गरेर अदालतमा बुझाउने प्रक्रियामा रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इरानको स्थानीय कानुनअनुसार मुद्दाको अन्तिम टुंगो लाग्ने भएकाले निष्पक्ष सुनुवाइ र आवश्यक कूटनीतिक पहल निरन्तर जारी राखिएको छ ।
परराष्ट्रको पत्र
इरानको Qeshm Island मा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा पक्राउ परी हाल सोही मुलुकको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक श्री अमृत झाका सम्बन्धमा देहायबमोजिम जानकारी गराइएको छ:
क. अमेरिका-इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनु अगावै जनवरी २०२६ को सुरुमा नेपाली नागरिक श्री झा र अन्य ६ जना विदेशीहरूलाई इरानी सुरक्षाकर्मीहरूले Qeshm Island बाट नियन्त्रणमा लिएका।
ख. १५ अप्रिल २०२६ का दिन इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee ले कतारस्थित नेपाली कार्यवाहक राजदूत श्री कुमार राईलाई “Dear Mr. Kumar today, with the follow-up efforts I fortunately received news of Mr. Amrit’s release. His release letter has been issued, and he is free as of today” भनी खबर पठाएको र उक्त बेहोरा माननीय परराष्ट्र मन्त्रीज्यू र सचिवज्यूलाई सम्बन्धित महाशाखा प्रमुखबाट प्रतिवेदन भएको। त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट श्री झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएको बारे विज्ञप्ति जारी गरिएको। उक्त जानकारीकै आधारमा माननीय परराष्ट्र मन्त्रीज्यूले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गर्नुभएको। साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पुरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको। तर केही दिन पछि प्राप्त जानकारी अनुसार अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले Expert report तयार गर्न भनेको। तत्पश्चात् परराष्ट्र मन्त्रीज्यूलगायतका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा निज झाका परिवारलाई यी सबै तथ्यहरू जानकारी गराइसकिएको छ।
ग. इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ।
घ. मन्त्रालयमा प्राप्त पछिल्लो जानकारी अनुसार Expert Report का लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ। इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको छ।
_______
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८३ जेठ ४, सोमबार।