मन्त्रिपरिषद् बैठकद्वारा वैशाख २४ गते प्रस्तावित ३३ औँ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरीको म्याद आज सोमबार गुज्रिएको छ । प्रस्ताव अनुमोदनपूर्व संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्थाअनुसार उनीविरुद्धका उजुरी सार्वजनिक रूपमा आह्वान गरिएको थियो ।
संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डेका अनुसार प्राप्त उजुरीहरू संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई भोलि मङ्गलवार वितरण गरिने छ । उजुरीका आधारमा डा.शर्मासँग प्रश्न राख्दै बुधवार जवाफको मौका दिइने भएको छ ।
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार बुधवार बिहान ९ बजेदेखि ३ बजेभित्र उजुरी उपर डा. शर्माको जवाफ र सिफारिसलाई निर्णयार्थ पेश गर्ने तयारी छ । उनी बुधवार अनुमोदित भएमा बिहीबार राष्ट्रपतिसमक्ष शपथ लिएर पदमा बहाली हुन सक्छन् ।
संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीश प्रस्तावित दीपकराज जोशी अस्वीकृत भएका थिए । उनी २०७५ साउन १८ मा तत्कालीन संसदीय सुनुवाइ समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएका हुन् । त्यसबाहेक अन्य कुनै पनि नियुक्ति सिफारिस अस्वीकृत भएको इतिहास छैन । यद्यपि, अहिलेको संसदीय सुनुवाइ समितिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बहुमत रहेका कारण उनको सिफारिस अस्वीकृत हुने सम्भावना न्यून छ ।