निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

  • प्रकाशित मिति : २०८३ जेष्ठ ६, बुधबार
  • नेपाल टेल संवाददाता

संघीय संसदको अर्थ समितिले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले निर्माण क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित मन्त्रालयलाई आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ।

बुधवार नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापनपत्र ग्रहण गर्दै अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारलाई सचेत गराइने बताएका हुन्। उनले समितिभित्र पनि छलफल गरेर समाधानको बाटो खोजिने स्पष्ट पारे।



उनका अनुसार विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन आवश्यक छ र त्यसका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर समन्वय गरिनेछ। उनले निर्माण व्यवसायीका चासो र सुझावलाई गम्भीर रूपमा लिइने बताए।

निर्माण व्यवसायीहरूले भने मूल्य समायोजन नहुँदा निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको दाबी गरेका छन्। महासंघका महासचिव शिवहरी घिमिरेका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि अधिकांश आयोजना घाटामा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ।

उनले डिजेल, पाइप लगायतका सामग्रीको मूल्य बढे पनि सरकारले समयमै मूल्य समायोजन नगरेका कारण निर्माण साइटहरू बन्द हुन थालेको बताए। मूल्य समायोजन नभए निर्माण कार्य अघि बढाउन नसकिने स्थिति रहेको उनको भनाइ छ।

निर्माण व्यवसायी महासंघले ठेक्का परेका आयोजनाहरू समेत सञ्चालन गर्न कठिन भएको भन्दै तत्काल मूल्य समायोजन गरी विकास निर्माणलाई निरन्तरता दिन सरकारसँग माग गर्दै आएको छ।