रविन्द्रले रचे इतिहासः ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

  • प्रकाशित मिति : २०८३ जेष्ठ १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा स्थान बनाउँदै इतिहास रचेका छन्।

चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्रले सेमिफाइनलमा स्थान बनाएका हुन्।



‘बझाङको बाघ’ उपनामले चिनिने ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराए। यस जितसँगै रविन्द्रले व्यावसायिक एमएमए करियरमा १०औं जित हात पारे।

उनले फिलिपिन्सका अनुभवी फाइटर किम्बर्टलाई लगातार दबाबमा राखे।

भारतको ‘मेट्रिक्स फाइट नाइट’ (एमएफएन)मा च्याम्पियन बनेका रविन्द्रले सुरुमा म्याटी इआनसँग प्रतिस्पर्धा गर्ने तय भएको थियो।

तर, इआन घाइते भएपछि अन्तिम समयमा किम्बर्टसँग उनले प्रतिस्पर्धा गरेका हुन्।

जितपछि ढाँटले विश्वभर रहेका नेपाली समर्थकलाई धन्यवाद दिँदै आगामी खेलहरुमा पनि यस्तै प्रदर्शन गर्ने बताए। उनको जितपछि प्रतियोगितास्थलमा ‘जय नेपाल’को नारा गुञ्जिएको थियो।

उनले पनि जितपछि ‘जय नेपाल’ र ‘जय हनुमान’ भनेर खुसी व्यक्त गरे।