रास्वपा महाधिवेशनको तयारी तीव्र, उद्घाटनमा प्रधानमन्त्री शाह र रवि लामिछानेले सम्बोधन गर्ने

  • प्रकाशित मिति : २०८३ असार ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार ७ गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनका लागि भोलि केन्द्रीय समिति बैठक भरतपुरमा बस्ने भएको छ।

महाधिवेशन उद्घाटन सत्रमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। उद्घाटन समारोहमा चितवनको संस्कृति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिनेछ।



भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन कार्यक्रमका लागि करिब ५ हजार कुर्सी अट्ने संरचना तयार गरिएको छ। बन्दसत्र भने चितवन उद्योग संघको हलमा सञ्चालन गर्ने तयारी छ।

महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि छनोटका लागि १०० जना प्रत्यक्ष निर्वाचनबाट चयन गरिने र मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिने जनाइएको छ।

प्रतिनिधिहरूको आवासका लागि भरतपुर, नारायणगढ, सौराहा, टाँडी लगायत क्षेत्रमा होटल व्यवस्थापन गरिएको छ। प्रतिनिधिहरूको होटल खर्च स्वयंले व्यहोर्ने भए पनि खाना, खाजा र यातायातको व्यवस्था पार्टीले गर्ने जनाएको छ।

रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।