लन्डन । बेलायतको सत्तारूढ लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामले महत्त्वपूर्ण उपनिर्वाचन जित्दै संसद्मा पुनरागमन गर्नुभएको छ । उहाँको जितलाई सङ्कटमा परेका प्रधानमन्त्री किर स्टार्मरमाथि थप राजनीतिक दबाब सिर्जना गर्ने घटनाका रूपमा हेरिएको छ ।
सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरका मेयर रहँदै आउनुभएका ५६ वर्षीय बर्नह्यामले उत्तरपश्चिम इङ्ग्ल्यान्डको मेकरफिल्ड निर्वाचन क्षेत्रमा दक्षिणपन्थी रिफर्म युकेका उम्मेदवार रोबर्ट केन्यनलाई सहज रूपमा पराजित गर्नुभयो । उहाँले करिब ५५ प्रतिशत मत प्राप्त गर्दै नौ हजारभन्दा बढी मतान्तरले विजय हासिल गर्नुभएको हो । ऐतिहासिक रूपमा उच्च मानिएको ५९ प्रतिशत मतदान भएको उक्त निर्वाचनलाई लेबर पार्टीको भावी नेतृत्वसँग जोडेर हेरिएको थियो ।
विजयपछि बर्नह्यामले आफ्नो पार्टीलाई परिवर्तनको अन्तिम अवसर रहेको सन्देश दिँदै अब सही निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो जित देशको राजनीतिक दिशाका लागि निर्णायक मोड बन्न सक्ने धारणा पनि व्यक्त गर्नुभयो ।
जुलाई २०२४ देखि प्रधानमन्त्री रहनुभएका किर स्टार्मर हाल पार्टीभित्र र बाहिर दुवैतर्फबाट बढ्दो दबाबमा हुनुहुन्छ । गत महिना इङ्ग्ल्यान्ड, स्कटल्याण्ड र वेल्समा सम्पन्न निर्वाचनमा लेबरले निराशाजनक नतिजा बेहोरेपछि उहाँको नेतृत्वमाथि प्रश्न उठ्न थालेका हुन् । विभिन्न नीतिगत यु–टर्न, विवाद तथा वरिष्ठ नेताहरूको असन्तुष्टिले उहाँको राजनीतिक हैसियत थप कमजोर बनाएको विश्लेषण गरिँदै आएको छ ।
दर्जनौँ लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्न आग्रह गरिसकेका छन् भने केही मन्त्रीहरूले राजीनामा दिएका छन् । यद्यपि स्टार्मरले आफू पद नछोड्ने स्पष्ट गर्दै आमनिर्वाचनमा प्राप्त जनादेशअनुसार पूरा कार्यकाल शासन गर्ने अडान कायम राख्नुभएको छ ।
मेकरफिल्ड उपनिर्वाचनलाई सामान्य निर्वाचनभन्दा बढी महत्त्वका साथ हेरिएको थियो । सत्तारूढ दलभित्र बढ्दो असन्तुष्टिका बीच पूर्व लेबर सांसद जोश साइमन्सले आफ्नो स्थान खाली गरेपछि बर्नह्यामलाई संसद्मा फर्कने अवसर मिलेको थियो । यसले करिब ७७ हजार मतदाता रहेको उक्त निर्वाचन क्षेत्रलाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनाएको थियो ।
लगातार तीन पटक ग्रेटर म्यानचेस्टरको मेयर निर्वाचित हुनुभएका बर्नह्यामलाई ‘उत्तरका राजा’ उपनामले समेत चिनिन्छ । सर्वेक्षणहरूले उहाँ लेबर पार्टीका सबैभन्दा लोकप्रिय नेतामध्ये एक रहेको र प्रत्यक्ष प्रतिस्पर्धा भए स्टार्मरलाई चुनौती दिन सक्ने सम्भावना देखाएका छन् ।
बिहीबार भएको मतदानलाई बर्नह्यामले निगेल फराज नेतृत्वको रिफर्म युकेलाई रोक्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने परीक्षणका रूपमा पनि लिइएको थियो । मुख्यतः मजदुर वर्ग र श्वेत समुदायको बाहुल्य रहेको क्षेत्र रिफर्म युकेका लागि अनुकूल मानिए पनि उम्मेदवार केन्यनका पुराना विवादास्पद अभिव्यक्तिहरूले पार्टीलाई असर गरेको विश्लेषण गरिएको छ । साथै रिस्टोर ब्रिटेन पार्टीको उपस्थितिले दक्षिणपन्थी मत विभाजित भएको मानिएको छ ।
बर्नह्यामको जितसँगै लेबरभित्र नेतृत्व परिवर्तनको चर्चा झन् तीव्र बनेको छ । पार्टी नियमअनुसार नेतृत्वको दाबेदार सांसद हुनुपर्ने भएकाले संसद्मा उहाँको पुनरागमनलाई निर्णायक मानिएको छ । उहाँले सोमबार सांसदका रूपमा शपथ लिनुहुनेछ र त्यसपछि नेतृत्व प्रतिस्पर्धामा प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ ।
नेतृत्व चुनौती औपचारिक रूपमा सुरु गर्न आवश्यक सांसदहरूको समर्थन जुटाउन बर्नह्यामलाई कठिन नहुने विश्लेषकहरूको भनाइ छ । लेबरका ४०० भन्दा बढी सांसदहरूमध्ये आवश्यक न्यूनतम ८१ जनाको समर्थन उहाँले सहजै प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।
यसैबीच, लेबरका दक्षिणपन्थी धारका पूर्व स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्री स्टार्मरलाई आफ्नो भविष्यबारे सोच्न केही समय दिनुपर्ने बताउनुभएको छ । उहाँले नेतृत्व प्रतिस्पर्धामा सहभागी हुने सम्भावना खुला राखे पनि पार्टीभित्र विभाजन बढ्न नदिन सहमतिमै समाधान खोज्नुपर्ने सङ्केत दिनुभएको छ ।
यद्यपि मतदान विशेषज्ञ जोन कर्टिसले बर्नह्यामको विजयलाई अत्यधिक अर्थ नलगाउन चेतावनी दिनुभएको छ । उहाँका अनुसार यो नतिजाले लेबर पार्टीको राष्ट्रिय लोकप्रियतामा तत्काल नाटकीय सुधार ल्याउने निष्कर्ष निकाल्नु हतारो हुनेछ । तर उपनिर्वाचनको परिणामले पार्टीभित्र नेतृत्वको बहसलाई नयाँ गति दिएको र आगामी केही सातामा ब्रिटिश राजनीतिले महत्त्वपूर्ण मोड लिन सक्ने सङ्केत भने स्पष्ट रूपमा दिएको छ।