लन्डन। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले सोमबार राजीनामा दिने र पदबाट बाहिरिने समयतालिका सार्वजनिक गर्न सक्ने चर्चा चुलिएको छ। द अब्जर्भरले स्टार्मरले आफ्नो भविष्यबारे अन्तिम निर्णयको तयारी गरिरहेको जनाएको छ। तर सरकारी स्रोतले भने स्टार्मर अहिले पनि सरकार सञ्चालनमै केन्द्रित रहेको दाबी गरेको छ।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई भारी जित दिलाएका स्टार्मर पछिल्लो समय पार्टीभित्रै तीव्र दबाबमा परेका छन्। विभिन्न विवाद, नीतिगत यू–टर्न र जनसमर्थनमा आएको गिरावटपछि उनीमाथि पद छाड्न दबाब बढ्दै गएको हो।
द अब्जर्भरको दाबी : बेलायती प्रधानमन्त्रीले पदत्यागको समयतालिका सार्वजनिक गर्न सक्ने, तर सरकारी स्रोतले भन्यो—‘उनी अझै काममै केन्द्रित छन्’
रॉयटर्सको गणनाअनुसार लेबरका १०० भन्दा बढी सांसदले स्टार्मरले पद छाड्नुपर्ने वा बाहिरिने समय तोक्नुपर्ने सार्वजनिक धारणा राखिसकेका छन्।
स्टार्मरको नेतृत्वमाथिको संकट शुक्रबार झन् गहिरिएको बताइएको छ, जब उनका सम्भावित प्रतिद्वन्द्वी एन्डी बर्नहमले संसदमा सिट जितेर औपचारिक नेतृत्व चुनौती दिने बाटो खोले। यद्यपि स्टार्मरले भने नेतृत्वमाथि कुनै चुनौती आए त्यसको सामना गर्ने बताएका छन्।
अब सोमबार आउने सम्भावित घोषणाले बेलायती राजनीतिमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ।