लियोनेल मेस्सीले पुरुष विश्वकप फुटबलको इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको ऐतिहासिक कीर्तिमान तोडेका छन्। अष्ट्रीयाविरुद्धको खेलमा आफ्नो खेल जीवनको १७ औं विश्वकप गोल गर्दै मेस्सीले यो सफलता हात पारेका हुन्।
सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘जे’ को अस्ट्रियाविरुद्धको खेलअघि मेस्सी र जर्मन लिजेन्ड क्लोस १६–१६ गोलसहित बराबरीमा थिए।
खेलको आठौँ मिनेटमा मेस्सीले पेनाल्टी प्रहार गर्न चुके पनि ३८ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए। यससँगै उनी पुरुष विश्वकप इतिहासमा एक्लै सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।
यसरी बन्यो कीर्तिमान
यसअघि जुन १६ मा भएको अल्जेरियाविरुद्धको खेलमा उत्कृष्ट ह्याट्रिक गर्दै मेस्सीले क्लोसको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए। अस्ट्रियाविरुद्धको गोलसँगै मेस्सीको कुल विश्वकप गोल सङ्ख्या १७ पुगेको छ। मेस्सीले आफ्नो छैटौँ विश्वकप सहभागितामा यो ऐतिहासिक सफलता प्राप्त गरेका हुन्।
पुरुष विश्वकपका शीर्ष ५ गोलकर्ताहरू
लियोनेल मेस्सी (अर्जेन्टिना): १७ गोल
मिरोस्लाभ क्लोस (जर्मनी): १६ गोल
रोनाल्डो नाजारियो (ब्राजिल): १५ गोल
गर्ड मुलर (जर्मनी): १४ गोल
किलियन एम्बाप्पे (फ्रान्स): १४ गोल
कीर्तिमान भंग हुनुअघि प्रतिक्रिया दिँदै जर्मनीका मिरोस्लाभ क्लोसले मेस्सीको प्रशंसा गरेका थिए। उनले भनेका थिए, “म मेस्सीको ठूलो फ्यान हुँ, उनी एक जीनियस हुन्। मेरो कीर्तिमान मेस्सीले तोड्दा मलाई खुसी लाग्नेछ।” त्यस्तै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि मेस्सीको यो उपलब्धिलाई ‘अमर चमक’ भन्दै बधाई दिएका छन्।