बेलायती राजा चार्ल्स तृतीयले किन सार्वजनिक गर्दैछन् ६८ करोड पाउन्डको हिसाब ?

  • प्रकाशित मिति : २०८३ असार ११, बिहीबार
  • नेपाल टेल संवाददाता

बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। आधुनिक इतिहासमा पहिलो पटक कुनै ब्रिटिश सम्राटले यस्तो पारदर्शिता अपनाउन लागेको यो कदमलाई राजपरिवारको वित्तीय व्यवस्थामा खुलापन बढाउने प्रयासका रूपमा हेरिएको छ।

बकिङहम प्यालेसले बिहीबार वार्षिक “सुभरेन ग्रान्ट” सम्बन्धी वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा राजाको करसम्बन्धी जानकारी पनि समावेश गर्ने बताइएको छ। यसअघि पनि राजा चार्ल्सले वेल्सका राजकुमार हुँदा आफ्नो कर तिर्ने विवरण सार्वजनिक गरेका थिए, तर राजगद्दी सम्हालेपछि यो पहिलो पटक हुनेछ।



पारदर्शितातर्फको नयाँ कदम

प्यालेसका स्रोतका अनुसार यो निर्णय राजाको व्यक्तिगत पहल हो, जसको उद्देश्य “राजपरिवारको वित्तीय व्यवस्थाप्रति जनविश्वास र बुझाइ बढाउनु” हो। बकिङहम प्यालेसले यसलाई आधुनिक समयअनुसार संस्थालाई सुधार गर्ने प्रयास भनेको छ। राजाको कर विवरणमा निजी आयमा तिरेको कर समावेश हुनेछ। यसमा बालमोरल र स्यान्डरिङहमजस्ता निजी सम्पत्तिबाट हुने आम्दानी, लगानी, बचत तथा डची अफ ल्यान्कास्टरबाट आउने नाफा समेटिनेछ।

राजपरिवारको आम्दानी र कर प्रणाली

बेलायतमा सम्राटलाई आयकर, पुँजीगत लाभ कर वा उत्तराधिकार कर तिर्न कानुनी रूपमा बाध्य पारिएको छैन। तर राजा चार्ल्सले स्वेच्छिक रूपमा आफ्नो निजी आम्दानीमा कर तिर्दै आएका छन्। राजा चार्ल्सको कुल व्यक्तिगत सम्पत्ति करिब ६८० मिलियन पाउन्ड (करिब ८९६ मिलियन अमेरिकी डलर) रहेको अनुमान छ। यसले उनलाई बेलायतका धनी व्यक्तिहरूमध्ये शीर्ष स्थानमा राख्छ। उनको निजी आम्दानी मुख्य रूपमा दुई ठूलो सम्पत्तिबाट आउँछ । स्कटल्याण्डको बालमोरल एस्टेट र इंग्ल्यान्डको स्यान्डरिङहम एस्टेट दुवै सम्पत्तिमा खेती, पर्यटन तथा विभिन्न व्यावसायिक गतिविधि सञ्चालन हुन्छन्।

राजकुमार विलियमको मुख्य निजी आम्दानी डची अफ कर्नवालबाट आउँछ, जसमा करिब १ लाख ३० हजार एकड जमिन र लगानी समावेश छ। यसले वार्षिक लाखौँ पाउन्ड नाफा आर्जन गर्छ।

पारदर्शिताको माग र एन्ड्र्यु विवाद

राजपरिवारभित्रका वित्तीय विषयमा पछिल्ला वर्षहरूमा पारदर्शिताको माग बढ्दै गएको छ। विशेष गरी पूर्व राजकुमार एन्ड्र्यु (अब एन्ड्र्यु माउन्टब्याटन–विन्डसर) सम्बन्धी विवादपछि यो दबाब अझ बढेको हो। उनीलाई यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्ध र सार्वजनिक पदको दुरुपयोगसम्बन्धी अनुसन्धानको सामना गर्नुपरेको छ। यसपछि उनलाई राजकीय उपाधिबाट हटाइएको थियो र उनी बस्दै आएको सम्पत्तिबाट पनि बाहिरिन बाध्य भएका छन्।

“आधुनिक राजतन्त्र” तर्फको संकेत

राजा चार्ल्सले पहिले नै राजपरिवारलाई सानो र कम खर्चिलो बनाउने योजना अघि सारेका थिए। उनका नजिकका स्रोतका अनुसार यो निर्णय राजतन्त्रलाई आधुनिक लोकतान्त्रिक अपेक्षासँग जोड्ने प्रयास हो। बकिङहम प्यालेसले वार्षिक रूपमा राजाको कर विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। यससँगै सुभरेन ग्रान्ट अन्तर्गतको सरकारी खर्च, महल मर्मत, कर्मचारी र औपचारिक भ्रमणको खर्चसमेत सार्वजनिक गरिनेछ।

सुभरेन ग्रान्ट र सार्वजनिक खर्च

हाल सुभरेन ग्रान्ट १३७.९ मिलियन पाउन्ड पुगेको छ, जसमा बकिङहम प्यालेसको ठूलो मर्मतका लागि अस्थायी वृद्धि समावेश छ। सन् २०१२ मा प्रणाली सुरु भएयता यो रकम कहिल्यै घटेको थिएन, तर अब पहिलो पटक कटौतीको सम्भावना पनि देखिएको छ। सांसदहरू र सार्वजनिक लेखा समितिले पनि राजपरिवारको वित्तीय व्यवस्थामाथि थप छानबिन गर्ने तयारी गरेका छन्।

विभिन्न एजेन्सीको सहयोगमा