नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न गएका युवालाई प्रहरीले कुटपिट गर्नुका साथै पक्राउ गरेको भन्दै निन्दा गरेका छन् ।
शनिबार राति सामाजिक संजालमार्फत सभापति थापाले कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका हुन् ।
उनले फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी नभई सत्ताको चरम कायरता भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?! चेत होस्ः लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो । फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो ! गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस् !’