विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउने प्रस्तावमाथि छलफल गर्ने भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप सकिएपछि सम्बन्धित समितिहरूमा यस विषयमा समीक्षा र छलफल हुने बताएका छन्। उनका अनुसार विश्वकपमा बढी देशलाई अवसर दिँदा विश्वभर फुटबलको विकास र प्रतिस्पर्धात्मक स्तर अझ सुदृढ हुनेछ।
हाल जारी २०२६ विश्वकप पहिलोपटक ४८ टोली सहभागी भएको संस्करण हो। यसअघि सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए।
सन् २०३० को विश्वकप उरुग्वे, अर्जेन्टिना, पराग्वे, मोरक्को, पोर्चुगल र स्पेनमा संयुक्त रूपमा आयोजना हुँदैछ। टोली संख्या ६४ पुगेमा आयोजक देशहरूले थप खेल आयोजना गर्ने अवसर पाउनेछन्।