विश्वकप सेमिफाइनलमा चार शक्ति: उपाधिको सबैभन्दा बलियो दाबेदार को?

  • प्रकाशित मिति : २०८३ असार २९, सोमबार
  • नेपाल टेल संवाददाता

४८ टोलीबाट सुरु भएको विश्वकप अब अन्तिम चारमा सीमित भएको छ। अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र फ्रान्सले सेमिफाइनलमा स्थान बनाएका छन्। फिफा वरीयताको शीर्ष चारमा रहेका यी टोलीमध्ये विश्लेषकहरूले फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदार मानेका छन्।

४. अर्जेन्टिना

साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलसम्मको यात्रा तय गरे पनि प्रदर्शनले खासै विश्वस्त बनाउन सकेको छैन। नकआउट चरणका अधिकांश खेलमा संघर्ष गर्नुपरेको अर्जेन्टिनाका लागि इंग्ल्यान्डविरुद्धको सेमिफाइनल कठिन परीक्षा हुने अनुमान गरिएको छ।



३. इंग्ल्यान्ड

इंग्ल्यान्डले उत्कृष्ट खेल नखेले पनि मानसिक दृढता र निर्णायक क्षणमा नतिजा निकाल्ने क्षमता देखाएको छ। जुड बेलिङहमको प्रभावशाली प्रदर्शन टोलीका लागि ठूलो बल बनेको छ। अर्जेन्टिनालाई हराउन सके इंग्ल्यान्ड फाइनल पुग्ने सम्भावना बलियो रहने विश्लेषण छ।

२. स्पेन

स्पेनको सबैभन्दा ठूलो शक्ति उसको बलियो र व्यवस्थित डिफेन्स हो। प्रतियोगिताभर कम गोल खाएको स्पेनले आक्रामक खेलमा पनि प्रभाव छोडेको छ। यद्यपि सेमिफाइनलमा फ्रान्सको तीव्र आक्रमण रोक्नु उसको सबैभन्दा कठिन चुनौती हुनेछ।

१. फ्रान्स

विश्लेषकहरूका अनुसार फ्रान्स हाल उपाधिको सबैभन्दा बलियो दाबेदार हो। किलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्ससँग सन्तुलित आक्रमण र मजबुत रक्षापंक्ति छ। छ खेलमा दुई गोल मात्र खाएको फ्रान्सलाई हराउन सक्ने टोली नै विश्व च्याम्पियन बन्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

अब सेमिफाइनलमा अर्जेन्टिना–इंग्ल्यान्ड र स्पेन–फ्रान्स भिड्दै छन्। यी दुई खेलको विजेताले जुलाई १९ मा हुने विश्वकप फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।