आर्सनलले ७५ मिलियन पाउन्डमा ब्रुनो गिमारेसलाई भित्र्यायो

  • प्रकाशित मिति : २०८३ श्रावण २४, आईतवार
  • नेपाल टेल संवाददाता

इङ्ग्लिस क्लब आर्सनलले न्युक्यासल युनाइटेडका ब्राजिलियन मिडफिल्डर ब्रुनो गिमारेसलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।

२८ वर्षिय गिमारेसले आर्सनलसँग चार वर्षको सम्झौता गरेका छन् । सम्झौतामा थप १२ महिना बढाउन सकिने विकल्पसमेत राखिएको छ ।



न्युक्यासलका पूर्वकप्तान गिमारेसले यसै समरमा प्रिमियर लिग च्याम्पियन आर्सनलमा जाने इच्छा स्पष्ट पारेका थिए । आर्सनलमा स्थानान्तरणलाई उनले आफ्नो जीवनकै ‘सबैभन्दा कठिन निर्णयमध्ये एक’ बताएका छन् ।

‘यो निर्णय निकै कठिन थियो, किनकि न्युक्यासल मेरो लागि धेरै अर्थ राख्छ। तर म आफ्नो जीवनमा केही नयाँ अनुभव गर्न चाहन्थें। आफू र आफ्नो परिवारका लागि नयाँ चुनौती लिन तयार भएको महसुस गरें’, उनले भने ।

न्युक्यासलले पनि गिमारेस र उनको परिवारको आगामी यात्राका लागि शुभकामना दिएको छ। स्पेनको ला मान्गामा रहेको न्युक्यासलको प्रशिक्षण शिविरबाट यसै साता बाहिरिएका गगिमारेसले आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा स्थानान्तरण प्रक्रिया पूरा गरेका हुन्। दुवै क्लबबीचको वार्तामा सहमति जुटेपछि उनको स्थानान्तरणले अन्तिम रूप पाएको हो।

आर्सनलका नयाँ सहकर्मीहरूबाट आफूले थुप्रै सन्देश पाएको गिमारेसले बताए। ब्राजिलका सहकर्मी गाब्रिएलसँगै मिडफिल्डर डेक्लान राइसले पनि उनलाई सन्देश पठाएका थिए ।

न्युक्यासलमा रहँदा राइससँग मैदानको मिडफिल्डमा पटक- पटक प्रतिस्पर्धा गरेका गिमारेसलाई राइसले ‘यहाँ आऊ, अब थप झगडा नगरौँ, हामी साथी हौँ’ भन्दै सन्देश पठाएका थिए ।

‘म अहिले जीवनको यस्तो चरणमा छु, जहाँ मलाई यस्तै चुनौती आवश्यक छ। म उपाधि जित्न चाहन्छु, इतिहास बनाउन चाहन्छु र त्यसका लागि म सही ठाउँमा आएको छु भन्ने लाग्छ । सुरुवात गर्न म निकै उत्साहित छु’, गिमारेसले भने ।

गिमारेस सन् २०२२ को जनवरीमा रेलिगेसनको जोखिममा रहेको न्युक्यासलमा आबद्ध भएका थिए । त्यसपछि प्रशिक्षक एडी होको नेतृत्वमा क्लबको प्रदर्शन सुधार हुँदा उनले महत्वपूर्ण भूमिका खेले ।

सन् २०२५ को काराबाओ कपको फाइनलमा न्युक्यासलले लिभरपुललाई हराउँदै उपाधि जित्दा गिमारेसले कप्तानका रूपमा ट्रफी उचालेका थिए । उनी न्युक्यासलका लागि सात दशकपछि प्रमुख घरेलु उपाधि उचाल्ने पहिलो कप्तान बने ।

गिमारेस न्युक्यासलले सन् २०२३ र २०२५ मा च्याम्पियन्स लिगका लागि छनोट हुँदा टोलीका महत्त्वपूर्ण सदस्यसमेत थिए । यद्यपि, गत सिजन न्युक्यासल प्रिमियर लिगमा १२औँ स्थानमा सीमित भएको थियो ।