उपसभामुख ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

उपसभामुख रुबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिएकी छन्। आफ्नो व्यक्तिगत सम्बन्धलाई लिएर ‘जनआस्था साप्ताहिक’मा प्रकाशित समाचारले आफ्नो चरित्र र प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै उनले कानुनी कारबाहीको माग गरेकी हुन्।

श्रेष्ठ यसअघि दीपिका सिंहको जाहेरीका आधारमा पक्राउ परेका थिए। सर्वोच्च अदालतले आज उनलाई रिहा गर्न आदेश दिएपछि उनी हिरासतबाट बाहिरिएका छन्। तर, सोही दिन उपसभामुख ठाकुरको जाहेरी दर्ता भएपछि श्रेष्ठविरुद्ध पुनः पक्राउको प्रक्रिया अघि बढ्न सक्ने चर्चा सुरु भएको छ।



नेपाल प्रेससँग कुरा गर्दै ठाकुरले समाचारमा आफू र आफ्नो ‘दाइ’बीचको सम्बन्धलाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गरिन्। उनका अनुसार दीपकजङ्गसँग आफ्नो दाजु–बहिनीको सम्बन्ध रहेको र आफूले उनलाई रक्षाबन्धनमा राखी बाँध्दै आएको बताइन्।

‘उहाँ मेरो राखी बाँध्ने दाइ हो। अघिल्लो वर्ष पनि राखी बाँधेकी थिएँ र यो वर्ष पनि बाँध्छु। तर हामीले गाडीमा चुम्बन गरेको भन्दै समाचार प्रकाशित गरेर मेरो चरित्र हत्या गरिएको छ,’ ठाकुरले भनिन्।

ठाकुरको सचिवालयका प्रतिनिधि जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेका थिए। दुई पृष्ठको जाहेरीमा प्रकाशित समाचारका कारण आफ्नो इज्जत, प्रतिष्ठा र सामाजिक छविमा गम्भीर तथा अपूरणीय क्षति पुगेको दाबी गरिएको छ।

जाहेरीमा संवैधानिक पदमा रहेकी उपसभामुखमाथि यस्तो सामग्री प्रकाशन हुनु व्यक्तिगत प्रतिष्ठामा मात्र नभई प्रतिनिधिसभाको गरिमा र मुलुकको प्रतिष्ठासँग समेत जोडिएको विषय भएको उल्लेख गरिएको छ।

ठाकुरले जाहेरीमा पनि दीपकजङ्गलाई आफूले लामो समयदेखि रक्षाबन्धनका अवसरमा राखी बाँध्दै आएको स्पष्ट पारेकी छन्।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले उपसभामुख ठाकुरको जाहेरी दर्ता भएको पुष्टि गरेका छन्।